Lumbini Rise
अटोरिक्सा चालकका लागि लाइसेन्स दिने प्रक्रिया सरल बनाउनुपर्ने  

बुटवल– अटोरिक्सा चालकहरूलाई लाइसेन्स दिने प्रक्रिया सहज र सरल बनाउनुपर्ने एक अध्ययनले देखाएको छ । विकल्प, एन अल्टरनेटिभ नामक विराटनगरको एक खोजमूलक संस्थाले उन्नत नीति इन्स्टिच्युट नामक बुटवलमा अवस्थित रिसर्च संस्था सँगको सहकार्यमा गरेको गरेको अध्ययनमा यस्ताे तथ्य भेटिएको हो । 

स्वरोजगार भएका अटोरिक्सा चालकहरू अधिकांश निरक्षर भएकाले उनीहरूका लागि लाइसेन्स दिने प्रावधान सहज बनाउनुपर्ने अध्ययनले देखाएको छ ।

शोधमा संलग्न उन्नत नीति इन्स्टिच्युटका प्रतिनिधि सुरेश सापकोटाले अटो रिक्सा व्यवसायले नेपालमा न्यून आय समूहमा ठुलो सङ्ख्यामा रोजगार र स्वरोजगार सिर्जना गरिरहेकाले लाइसेन्स सम्बन्धी व्यवस्था सरल बनाउनुपर्ने अध्ययनले देखाएको बताए । 

विकल्प, एन अल्टरनेटिभका प्रमुख वसन्त अधिकारीका अनुसार अध्ययनका लागी भैरहवा र नेपालगन्जका विभिन्न २५१ जना रिक्सा चालकहरू सँग तथ्याकं सङ्कलन गरिएको थियो । यसमध्ये २०७ जनासँग लाइसेन्स नभएको, र लाइसेन्स नहुने मध्ये ठुलो सङ्ख्याका चालकहरू साक्षर नभएको भेटिएको छ । 

लाइसेन्सका लागी लिखित परीक्षा पास गर्नुपर्ने र कतिपय अटो रिक्सा चालक पढ्न लेख्न नजान्ने भएकाले त्यस्तो परीक्षामा समावेश हुन हिचकिचाउने वा सामेल भए पनि फेल हुने समस्या भेटिएको शोधकर्ताको भनाई छ । शोधमा संलग्नमध्ये ११९ जना पढ्न लेख्न नजानेर वा लाइसेन्स प्रक्रियाको बारेमा जानकारी नभएर लाइसेन्स नभएका भेटिए भने बाँकीले लाइसेन्स प्रक्रिया झन्झटिलो भएर, आवश्यक कागजात नपुगेर र ट्रायलमा पास हुन नसकेर लाइसेन्स नभएको उनले जानकारी दिए । 

कोसी प्रदेशमा पनि यस्तै समस्या भेटिएपछि त्यहाँको प्रदेश सरकारले अटो चालकको लाइसेन्सका लागी लिखित परीक्षा दिनुपर्ने व्यवस्थाको ठाउँमा आधा घण्टाको भिडियो मार्फत जानकारी दिने प्रक्रिया समावेश गरेको छ । 

लिखितमा सोधिने प्रश्नहरूलाई नै भिडियो र अन्य संकेतको प्रयोग गरी परिक्षार्थीहरुलाई जानकारी दिने र टायल परीक्षामा समावेश गराउने गरिएको उनले बताए । लुम्बिनीमा पनि यही वा यस्तै रचनात्मक व्यवस्था गरेर पढ्न लेख्नमा समस्या भएका तर अटो व्यवसायमा संलग्न हुन चाहने वा भएकालाई सजिलो बनाउन अध्ययनको निष्कर्ष छ । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update