लुम्बिनी सरकारको सञ्चित कोषमा रकम सकिएपछि खाता बन्द
मंगलबार, असार १७, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारको सञ्चित कोषको रकम सकिएपछि खाता बन्द गरिएको छ । प्रदेशस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार मध्यराति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का गरेको हो ।घाटा बजेट ल्याएका कारण लुम्बिनी प्रदेश सरकारले गत वर्ष पनि असार २२ गतेपछि भुक्तानी रोकेको थियो । गत वर्षको २ अर्ब १९ करोड रकम चालु आवमा भुक्तानी गरिएको थियो । चालु आवमा पनि घाटा बजेट भएकै कारण खातामा रकम सकिएपछि भुक्तानी रोक्नु परेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । आइतबारसम्ममा पुँजीगततर्फ झन्डै ७० प्रतिशत बजेट खर्च भएको उनले बताए ।