आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा
शुक्रबार, असार २०, २०८२
बिबिसि - उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका हुन्। आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्। चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ। दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन्।