
बिबिसि - उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक गुरु दलाई लामाले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतीक्षित घोषणा गरेका हुन्। आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग रहने उनले बताए। उक्त ट्रस्टको स्थापना उनैले गरेका हुन्।
चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ। दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन्।
बुधवार दलाई लामाले एक भिडिओ सन्देश जारी गर्न लागेको उनको कार्यालयले बीबीसीलाई बताएको थियो। तर उनले त्यसमा के भन्न लागेका छन् भन्ने चाहिँ प्रस्ट भएको थिएन। उनको घोषणालाई धर्मशालामा आयोजित १५औँ तिब्बती धार्मिक सम्मेलनले सर्वसम्मत रूपमा समर्थन गरेको एकजना सहभागी पेन्पा छिरिङले बताए।
धर्मशालामा जन्मोत्सव
सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपश्चात् दलाई लामा भागेर भारत पुगेका थिए। उत्तर भारतको पर्वतीय नगर धर्मशालामा उनले निर्वासित सरकारको गठन गरे। तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्नेहरूले उनलाई शक्तिको एक वैकल्पिक स्रोतका रूपमा हेर्छन्।
आइतवारको ९०औँ जन्मदिन अगाडि बुधवारदेखि सुरु हुने गरी धर्मशालामा तीन दिने १५औँ तिब्बती धार्मिक सम्मेलन भइरहेको छ।
जन्मोत्सवका विविध कार्यक्रम सोमवार देखि नै सुरु भइसक्यो – जुन दिन तिब्बती लुनार क्यालेन्डर बमोजिम दलाई लामाको जन्म दिन पर्छ।जन्मोत्सवका कार्यक्रमहरूमा भाग लिन ७ हजार पाहुना आउने छन् जसमा कैयन् भारतीय मन्त्रीहरू पनि छन्।
सोमवार जारी गरिएका फोटोहरूमा दलाई लामाले हलिवूड अभिनेता रिचर्ड गेरलाई आशीर्वाद दिइरहेको देखिन्छ। उनी दलाई लामाका पुराना अनुयायी हुन्। विगतमा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे आफ्नो ९०औँ जन्मदिन ताका विस्तृत बताउने भनेका थिए। सोमवार भएको भेलामा उनले 'कुनै एक प्रारूप हुने जसअन्तर्गत हामी दलाई लामाको संस्थाको निरन्तरताबारे कुराकानी गर्न सक्नेछौँ' भनेका थिए।
त्यस्तै यी नोबेल शान्ति पुरस्कार विजेता तिब्बती आध्यात्मिक अगुवालाई विगतमा यस ६०० वर्ष पुरानो संस्था कायम राखिरहने वा नरहने भन्ने दुबिधा थियो। केही वर्ष अगाडि उनले आफ्ना उत्तराधिकारी महिला पनि हुन सक्ने वा कोही पनि नहुन सक्ने भनेका थिए।
तर पछिल्ला समयमा उनले यदि निर्वासनमा बसिरहेका तिब्बती समुदायमाझ बहुमत समर्थन छ भने – जुन छ - उक्त संस्था निरन्तर रहने र उनको कार्यालयले उत्तराधिकारी छान्ने बताएका थिए।
तिब्बतको हैसियतलाई लिएर दलाई लामाले सदा मध्य मार्गु – चीनभित्र सच्चा स्वशासन – को वकालत गर्दै आएको भए पनि बेइजिङले उनलाई पृथकतावादी मान्छ। आफ्नो शासनमा तिब्बतका मानिसहरूको जीवनस्तर निकै सुधारिएको चीनको भनाइ छ।
तिब्बतको निर्वासित संसद्का एक सदस्य योदन अउकात्साङले यो साता स्पष्ट प्रक्रियाु आउने उनको अपेक्षा नरहेको बताएकी थिइन्।‘मलाई लाग्छ सबै जनाले गुरुले पुनरअवतारबारे केही बोल्नुहुन्छ भन्ने अपेक्षा गरिरहेका छन्। तर कुनै स्पष्ट किसिमको जनाउ आउला भन्ने मलाई लाग्दैन’ उनले भनेकी थिइन्।
वर्तमान दलाई लामा ुतिब्बती आन्दोलनलाई एकताबद्ध र गोलबन्द गर्ने शक्तिु भएको भन्दै उनले कतिपय तिब्बतीहरूले उनको उत्तराधिकारीको चाँडै चयन हुनु पर्ने नत्र उक्त समुदाय र आन्दोलनलाई भावी दिनमा प्रभाव पर्ने ठान्ने गरेको बताइन्।
‘दलाई लामाको संस्था तिब्बती सङ्घर्षको क्रममा एकदमै महत्त्वपूर्ण हो। तिब्बती पहिचानको यो प्रतीक हो र हाम्रो आध्यात्मिक शरणको मार्गदर्शक केन्द्र हो। यो जारी रहने छ। मलाई लाग्छ रिक्तता हुनेछ तर हामीले निरन्तरता दिनुपर्ने छ, अरू विकल्प छैन’उनले भनिन्।
जानकारहरूले चाहिँ उनले उत्तराधिकारीको घोषणा गर्ने बित्तिकै चीनले पनि उसको दलाई लामा मनोनित गर्ने ठान्छन्। 'चीनले भन्ने छ कि केवल बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीसँग मात्र दलाई लामाको पुनरअवतार पहिचान गर्ने प्राधिकार छ' युनिभर्सिटी अफ वेस्टमिन्स्टरका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक दिव्येश आनन्दले बीबीसीलाई भने।केही महिना वा केही वर्षको अन्तरालपछि उनीहरूले आफ्नै मानिसहरूलाई लगाएर नयाँ दलाई लामाको पहिचान गर्ने छन् र उनलाई थोपर्ने छन्। निश्चय पनि अधिकांश तिब्बतीहरूले त्यसलाई अस्वीकार गर्ने छन् भने विश्वका धेरै मानिसले त्यसको मजाक उडाउने छन्। तर स्मरण रहोस् चीनसँग असीमित स्रोत छ र उसले आफ्नो निर्णय थोपर्न खोज्ने छ।
तिब्बती मान्यता
तिब्बती बौद्धमार्गीहरूले उनीहरूका वरिष्ठ गुरुहरूको पुनरअवतार हुने विश्वास गर्छन्। पूर्ववर्ती दलाई लामाको आत्मा रहेको भनेर बौद्ध अधिकारीहरूले ठम्याए भने तिनलाई नयाँ दलाई लामाको रूपमा चयन गरिने चलन छ।
अहिलेका १४औँ दलाई लामाको जन्म सन् १९३५ को जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक गरिब किसान परिवारमा भएको थियो। उनको नाम ल्हामो धोन्दुप थियो। उनी दुई वर्षको हुँदा दलाई लामा पहिचान गर्ने बौद्ध अधिकारीहरूको टोलीले उनलाई विगतका १३ दलाई लामाका पुनरअवतार भएको ठम्याएका थिए। -साभार बिबिसि