Lumbini Rise
रास्वपामा टिकट परीक्षा: भूगाेल, मुद्धा र याेगदानका आधारमा मधु अर्याल सशक्त!

बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । 

पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा  संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट बनाउने ‘भिजन’ तयार गरेको बताए । रास्वपालाई रुपन्देही–३ मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले शुरुमा ५ सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको बताए । रास्वपाको उम्मेदवारको लागि अर्यायसहित ९ जना टिकटको आकांक्षी छन् । 

पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाई भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी र लुम्बिनीको पर्यटन विकास, खेल पर्यटन सहित रुपन्देहीको एकीकृत विकास गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेको अर्यालले बताए । कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्राङगारिक खेतीलाई जोड दिने आफनो एजेण्डा रहेको उनले सुनाए ।  

उनले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेकाले चुनावी माहोल रास्वपामय रहेको दावी गरे । 
उनले भ्रष्टाचारको अन्त्य गरी सुशासन, जनताको पक्षमा कानून र नीति निर्माणसंगै  संसदमा सशक्त प्रतिपक्षी सांसदको भूमिका खेल्दै  २०८४ मा रास्वपाको वहुमतको ढोका खोल्न रुपन्देही ३ मा जित निकाल्न आफू सबैभन्दा उपयुक्त उम्मेदवार हुने दावी गरे ।

रुपन्देही ३ मा नदी दोहन र ढंगा,गिटीबालुवा चोरी तस्करीको ठूलो समस्या रहेको भन्दै आफूले यसलाई नियन्त्रण गर्न सही नीति बनाउन भूमिका खेल्ने बताए ।  निर्वाचन आयोगले रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनको मिति सार्वजनिक गर्दा रुपन्देही ३ का ३६ वडामध्ये २ वडा वडा समिति रहेकामा त्यसयता आफ्नो सक्रियतामा ३४ वडामा संगठन विस्तार भएको अर्यालले बताए । 

‘क्षेत्रका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुको चाहना र सुझाव अनुसार  नै उम्मेदवार बन्न लागेको हुं, पार्टीले अपनाएको उम्मेदवार छनोट विधि अनुसार पनि प्राइमरी इलेक्सन र अन्य मापदण्डमा अब्बल दावी गरेको छु’–अर्यालले भने–‘म निर्वाचन क्षेत्रका मुद्धालाई स्थापित गर्ने गरी उम्मेद्वार बन्न खोजेको हुँ ।’

भूगोललाई मसिनो गरी बुझेका अर्याल उम्मेद्वार भएकाले कार्यकर्ताहरु समेत उत्साही छन् ।  अर्याल जे काम गर्छन्, त्यसलाई इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्छन् । अर्यालले अन्य उम्मेद्वारहरुले जस्तो ठूला सपना बाँडेका छैनन् ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रतनिधिसभा सदस्यका रुपमा आफूले अभिभाकत्व लिने गरी नीतिगत पहल गर्ने उनको अठोट छ । त्यसो त अर्यालले पार्टी समक्ष आफ्ना योजनाहरुको विस्तृत योजना नै पेश गरेका छन् , तर उनले आफू सांसदका रुपमा नीतिगत र कानुनी रुपमा गर्न सक्ने भूमिकालाई मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् । विमानस्थलसँगै बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर आध्यात्मिक पर्यटन र त्यसका लागि बुद्ध सर्किटका लागि पहल गर्ने उनको योजना छ ।

तिनाउ दानव नदीलाई प्रकृति र मानव जीवनसँग जोडेर विकास गर्ने, सहरमुखी क्षेत्र र ग्रामिण इलाकाहरुमा कृषिलाई प्राथमिकता राखेर काम गर्ने उनको प्रतिवद्धता छ । प्रविधिमा आधारित रहेर कृषिको आधुनिकिकरण गरी उत्पादन बढाउने र यसको बजारीकरणमा बिशेष भूमिका खेल्ने उनले बताए ।

‘कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनमा बिशेष रुपमा नीतिगत कामहरु गर्न खटिन्छु’ उनले भने । उनले निर्वाचन क्षेत्र न. ३ को मा मल र सिंचाईको व्यवस्था, पूर्वाधार विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना बनाएका छन् । अर्यालले रास्वपाको संगठन विस्तारमा क्षेत्र, जिल्लामात्रै होइन्, देशका विभिन्न अभियानमा सामेल भएका छन् ।

पार्टी सभापती रवि लामिछानेसँगै उनी विभिन्न अभियानमा सामेल भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारका लागि दवाव दिन आयोजित पैदल यात्रामा उनी रवि लामिछानेसँगै हिडेका थिए । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका बेला राहात र उद्धारका बेला पनि अर्याल  पार्टी सभापतीसँगै खटिएका थिए ।

यस्तै पाल्पा, अर्घाखाँची, कपिलबस्तुमा रास्वपाका विभिन्न कार्यक्रममा पार्टी सभापतीको सम्बोधनमा सँगसँगै हिडेको उनी बताउँछन्। स्वदेशमा मात्रै होईन अर्याल बेल्जियमको एन्ट्रोपसिटिमा प्रमुख अतिथिका रुपमा सहभागी भएर संगठन विस्तार गरेका थिए ।

त्यसैगरी उनी पोल्याण्डको राजधानी वासा,बेल्जियमको ब्रसेल्स सहरमा पनि पार्टी गतिविधि विस्तारमा लागेको थिए । बुटवल १७ का मधु प्रसाद अर्याल अभियान्ता, लेखक, र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन् । सामाजिक रुपान्तरणका लागि नयाँ काम गर्ने अठोट सहित राजनीतिमा लागेका उनी बालबालिकाको क्षेत्रमा १५ बर्षदेखि काम गरेका व्यक्ति हुन् ।

बालबालिकमा देखिने  संवेदनशिल विश्वव्यापी समस्या  ‘अटिजम’मा विद्यावारिधिको शोधकर्ता हुन् ।  अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको रूपमा उनले काम गरेका छन् ।

काठमाडौंका विभिन्न कलेजहरुमा प्राध्यापन समेत गरेका उनले केही विद्यालय तहको पुस्तक लेखेका छन् । कक्षा ११ र १२ को अनिवार्य नेपाली (२०६३) बिषयका सहलेखक हुन भने उनले टाकुरिएका नेपाली कविता सग्रह (२०६१) प्रकाशित छन् । अर्यालको सबै क्षेत्रका व्यक्तिहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । वैकल्पिक शक्ति मूलधारको पार्टीहरुसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने उनको मान्यता छ । 

रास्वपाबाट  उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । उम्मेदवार बन्न आवेदन दिनेहरुमा अर्यालसंगै शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय,  डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर (जेबी) गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल रहेका छन्। 

उम्मेदवारका लागि आवेदन दिएकाहरु मध्ये कुसुम महर्जन पार्टी केन्द्रीय सदस्य हुन् । उनी गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update