
बुटवल- सामान्यतया विद्यार्थीहरु कक्षाकोठामै अध्ययन गर्छन् । तर, शुक्रबार बुटवल स्थित क्यानन मावि कक्षा १० का विद्यार्थीहरुले अग्रेज फौजलाई परास्त गरेको बुटवल जतिगढी किल्लाकाे अवलाेकन गरि अध्ययन गरेका छन् ।
सामाजिक अध्ययन बिषय अन्तर्गत परियोजना कार्यका लागि बुटवल जितगढीको ऐतिहासिक महत्वका बारेमा स्थलगत रुपमा भ्रमण गरी विद्यार्थीहरुले जानकारी लिएका हुन् ।
कक्षा १० का ७० विद्यार्थीहरुले नेपालले अग्रेज फौज हराएको ऐतिहासिक पक्ष, नेपालीहरुको विरता र तत्तकालिन समयमा अत्याधुनिक हतियार रहेको अग्रेज सेनालाई हराउनुको कारणबारे विद्यार्थीहरुले अवलोकन गरी जानकारी बटुलेका थिए ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिका वडा न. १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले जितगढी किल्ला राष्ट्रियताको प्रतिकका रुपमा रहेको भन्दै यसको महत्व बुझ्न विद्यार्थीहरु जितगढी किल्ला आउनु सकरात्मक रहेको बताए ।
उनले आधुनिक हतियारको अग्रेज फौंजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वमा भाल, खुकुरी, तोप जस्ता घरेलु हतियारबाट परास्त गरेको बताए । उनले नेपालीहरुको युद्धकौशलले नेपाली भूमिको रक्षा गरेकाले जीतगढी किल्ला ऐतिहासिक स्थल रहेको बताए ।
विद्यार्थी सिकाईलाई व्यवहारिक र प्रयोगात्मक बनाउन क्याननले विद्यार्थीहरुलाई स्थलगत निरीक्षण गराएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।
विद्यार्थीहरुले ग्रेटर नेपालको नक्सा, युद्ध संग्रालय तथा युद्धस्थलको निरीक्षण गरेका थिए ।बुटवल जीतगढी किल्लामा अग्रेज फौजलाई बिस १८७२ बैशाख ७ गते उजिसिंह नेतृत्वको नेपाली सेनाले परास्त गरेको थियो ।