
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगन गरेको छ । सोमबारको प्रदर्शनमा काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको छ ।
त्यस्तै सयभन्दा बढी घाइते भएका छन् । देशमा सोमबारको प्रदर्शनपछि असहज परिस्थिति सिर्जना भएको भन्दै त्रिविले परीक्षा स्थगन गरेको हो । भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म) सञ्चालन हुने देशभरका सबै परीक्षा केन्द्रका परीक्षा हाललाई स्थगन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले ती परीक्षा क्रमशः मिति २०८२ आश्विन २ गते, ४ गते र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गरिने जनाएको छ ।
‘आकस्मिक बैठक बस्यौं । ३ दिनको परीक्षा रोकेर पछाडि गर्ने निर्णय भएको छ,’ त्रिविका रजिस्ट्रार केदार रिजालले भने, ‘वार्षिक प्रणालीको कार्यालयले स्थगन गर्ने निर्णय गर्यौ । सेमेस्टरको सम्बन्धित डिन कार्यालयहरुले सूचना जारी गरेर परीक्षा स्थगन गर्छन् ।’