Lumbini Rise
शैक्षिक परामर्श प्रदायक संस्थाकाे दर्ता प्रकृया अगाडि बढाउन माग

बुटवल - राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश समितिले (नेका) ले पहिलो साधारण सभा यहि पुस २५ गते गर्ने भएको छ । तिलाेत्तमा स्थित टाईगर प्यालेसमा गरिने साधारण सभामा संघको विगत गतिविधिको समीक्षा गर्दै भावी कार्ययोजना तय गरिने छ ।

साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी नेका लुम्बिनी प्रदेशले दिएको छ । सभामा संघका सदस्य तथा अतिथिसहित करिब एक सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

साधारण सभाको अवसरमा बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेका लुम्बिनी प्रदेशका अध्यक्ष गणेश पोखरेलले शिक्षा मन्त्रालयले नयाँ दर्ता प्रक्रिया रोकेको कारण शैक्षिक परामर्श प्रदायक संस्थाहरू दर्ताबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले शैक्षिक परामर्श प्रदायक संस्थाको नयाँ दर्ता प्रक्रिया तत्काल खुलाउन सरकारसँग माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेका लुम्बिनी प्रदेशका सचिव नारायण पोखरेलले साधारण सभाबाट संघलाई थप सुदृढ बनाउँदै सदस्य हितका विषयमा ठोस निर्णय लिइने बताउनुभयो ।

साधारण सभाका संयोजक तथा नेका लुम्बिनी प्रदेशका सहसचिव योगेश ढकालका अनुसार नेकाले हाल काठमाडौँ, कोशी र लुम्बिनी प्रदेशमा शाखा विस्तार गरिसकेको छ । लुम्बिनी प्रदेशमा मात्रै ३१ वटा शैक्षिक परामर्श प्रदायक संस्था संघमा आवद्ध रहेका छन् ।

नेका लुम्बिनी प्रदेश समितिका सदस्य सूर्य गहतराजले स्वागत सहित संस्थाकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update