बुटवल- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नं २ बाट उम्मेदवार बनेका विष्णु पौडेलले सार्वजनिक पुराना योजनाको पूर्णतासँगै दीर्घकालीन नयाँ विकासका प्रतिवद्धता जनाएका छन् । उनले सार्वजनिक गरेका २० बुँदे चुनावी एजेण्डालाई आधार मानेर चुनावी प्रतिस्पर्धा थप तातिएको हो ।
उनले आफूले बोलेका होइन, अघिल्ला कार्यकालमा काम गरेर देखाएका योजनामात्रै समेटिएको दाबी गर्दै पौडेलले भौतिक पूर्वाधार, आर्थिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन, ऊर्जा र सामाजिक सुरक्षासम्मका विषयलाई समेट्ने गरी विस्तृत प्रतिबद्धता अघि सारेका छन् ।
पौडेलको २० बुँदे एजेण्डाको केन्द्रमा ‘वृहत् बुटवल’ अवधारणा राखिएको छ । पश्चिम नेपालकै व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको बुटवललाई आधुनिक सहरमा रूपान्तरण गर्दै त्यसको प्रभाव रूपन्देहीका ग्रामीण भेगसम्म विस्तार गर्ने लक्ष्य उनले अघि सारेका छन् । बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापन, ढल, खानेपानी, हरियाली, फोहोर व्यवस्थापन र आवासीय योजनालाई एकीकृत रूपमा अघि बढाउने प्रतिबद्धता उनको एजेण्डामा उल्लेख छ ।
भौतिक पूर्वाधारतर्फ पौडेलले सबैभन्दा महत्त्वपूर्ण योजनाका रूपमा कालीगण्डकी–तिनाउ पथान्तरणलाई राखेका छन् । यो आयोजना सम्पन्न भए रूपन्देहीसहित लुम्बिनी क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान हुने उनको दाबी छ । त्यस्तै बुटवल–पोखरा सडक स्तरोन्नति गरी दुई घण्टामा पोखरा पुग्ने अवस्था बनाउने, बुटवल–नारायणघाट सडकलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, बुटवल–सुनौली अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई व्यवस्थित बनाउने एजेण्डा पनि समेटिएको छ ।
औद्योगिक विकास र रोजगारी सिर्जनालाई पौडेलले आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग स्थापना गरेर युवालाई स्वदेशमै रोजगारी दिन सकिने उनको तर्क छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सीप र पुँजीमा आधारित उद्यमतर्फ आकर्षित गर्न सहुलियत ऋण, तालिम र बजार सुनिश्चितताको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण पौडेलको अर्को मुख्य एजेण्डा हो । सिँचाइ सुविधा विस्तार, कृषिमा यान्त्रिकीकरण, उत्पादनको उचित मूल्य, भण्डारण र प्रशोधन केन्द्र स्थापना गरेर किसानको आम्दानी बढाउने योजना उनले अघि सारेका छन् । रूपन्देहीको उर्वर भूमिलाई व्यावसायिक खेतीसँग जोड्दै कृषि आधारित उद्योग विकास गर्ने लक्ष्य पनि उनको घोषणापत्रमा उल्लेख छ ।
शिक्षा क्षेत्रमा गुणस्तर सुधार र सीपमूलक शिक्षामा जोड दिने पौडेलको प्रतिबद्धता छ । सामुदायिक विद्यालयको भौतिक संरचना सुधार, शिक्षक तालिम, प्रविधिमैत्री शिक्षा र प्राविधिक शिक्षालाई विस्तार गर्दै स्थानीय आवश्यकतासँग शिक्षा जोड्ने उनको भनाइ छ । उच्च शिक्षाका लागि रूपन्देहीमै सुविधा विस्तार गरी विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्यसमेत उनले राखेका छन् ।
स्वास्थ्य क्षेत्रको सुधार पौडेलको अर्को प्राथमिकता हो ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रूपमा उपलब्ध गराउने, अस्पतालको क्षमता विस्तार, विशेषज्ञ सेवा स्थानीयस्तरमै पुर्याउने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै मोबाइल स्वास्थ्य सेवा र टेलिमेडिसिनको अवधारणासमेत उनले अघि सारेका छन् ।
ऊर्जा र पर्यटन विकासलाई पनि पौडेलले आर्थिक समृद्धिसँग जोडेर हेरेका छन् । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्दै उद्योग र घरायसी प्रयोगका लागि गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने उनको भनाइ छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्द्धन गर्दै लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजनासमेत उनको एजेण्डामा समावेश छ।
+सामाजिक सुरक्षाको सवालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित र विपन्न समुदायलाई लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पौडेलले जनाएका छन् । सामाजिक सुरक्षा भत्तालाई समयानुकूल बनाउँदै सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउने उनको भनाइ छ ।
सुशासन र पारदर्शितालाई पनि पौडेलले चुनावी एजेण्डाको आधार बनाएका छन् । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा डिजिटल प्रणाली, छिटोछरितो सेवा र जनप्रतिनिधिको जवाफदेहितालाई मजबुत बनाउने उनले बताएका छन् । विकास योजनामा जनसहभागिता र निगरानी बढाएर ‘कागजमा होइन, मैदानमा देखिने विकास’ गर्ने दाबी उनको छ ।
पौडेलले आफ्नो २० बुँदे एजेण्डालाई चुनावी नारामा सीमित नराखी अघिल्ला कार्यकालमा सम्पन्न तथा सुरु भएका आयोजनासँग जोडेर प्रस्तुत गरेका छन् । यसले उनको एजेण्डा व्यवहारिक र कार्यान्वयनयोग्य रहेको सन्देश दिन खोजिएको देखिन्छ । उनका समर्थकहरू यसलाई अनुभवी नेताको ‘रोडम्याप’ मानिरहेका छन् भने विपक्षी दलले कार्यान्वयन क्षमतामाथि प्रश्न उठाइरहेका छन् ।
रूपन्देही–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा विकास, रोजगारी र सुशासन मतदाताका मुख्य चासोका विषय बनेका छन् ।

