Lumbini Rise
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस

बुटवल - तिलोत्तमा नगरपालिकाले २० औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा शुक्रबार सवैधानिक तथा कानुनी सचेतना बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नगरपालिकाका कार्यपालिका सदस्य तथा वातावरण तथा विपद समितिका संयोजक सुरेन्द्र श्रीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य श्रीले सामाजिक न्याय, समतामुलुक समाज निर्माणका लागि तिलोत्तमा नगरपालिकाले नीतिगत र बजेट छुट्याएर काम गरेको बताए ।

उनले जातीय भेदभाव सामाजिक कलंक भएको बताउँदै यसको अन्त्यका लागि सरकारसँगै सबै नागरिकहरुविच हातेमालो गर्न जरुरी रहेको बताए । 

WhatsApp-Image-2026-06-05-at-20.31.31-1780671103.jpeg



यस्तै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले नगरपालिकाले भौतिक विकाससँगै मानवीय विकासलाई जोड दिएको बताउँदै नेपालमै दलित समुदायको जीवनस्तर उकास्न, चेतना अभिबृद्धि तथा सिपमुलुक कार्यमा काम गरेको बताए ।

उनले दलित समुदायको पाश्वचित्र, दलित रणनीति र जातीय छुवाछुत सम्बन्धी ऐन प्रकाशन तथा तिलोत्तमा ज्ञान महोत्सव गर्दै आएको बताए । 

कार्यक्रममा पत्रकार विनोद परियारले जातीय छुवाछुत र अन्य सामाजिक (कसुर र सजाय) ऐन २०६८ कार्यान्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत सिता घिमिरे, संस्थाका अध्यक्ष रामबहादुर विश्वकर्मा, बुद्धिसागर विश्वकर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अगुवा तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update