Lumbini Rise
ज्ञानपुञ्ज एलुम्नाई संघ गठन, सिद्धार्थ कँडेल अध्यक्षमा निर्वाचित

बुटवल- ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा “ज्ञानपुञ्ज एलुम्नाई मिट–२०८३” सोमबार  सम्पन्न भएको छ । विद्यालय सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा १० तथा १२ उत्तीर्ण गरी विभिन्न क्षेत्रमा क्रियाशील करिब ८० जना पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामप्रसाद भट्टराईको अध्यक्षता तथा युवा उद्यमी, ड्याडीज किचनका संस्थापक एव अनलाइनखबरका ४० वर्षमुनिका सफल व्यक्तित्व–२०८२ मा सम्मानित  कमलजंग कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 

सो अवसरमा विद्यालयका प्राचार्य शंकर भण्डारीले पूर्व विद्यार्थीहरू विद्यालयका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै विद्यालय र एलुम्नाईबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । उनले ज्ञानपुञ्जबाट प्राप्त शिक्षा, संस्कार र मूल्यलाई समाज रूपान्तरणमा उपयोग गर्न पूर्व विद्यार्थीहरूलाई आग्रह गरे । 

प्रमुख अतिथि कुँवरले आफ्नो संघर्षपूर्ण यात्रादेखि सफल उद्यमी बन्ने यात्रासम्मका अनुभवहरू साझा गर्दै सफलता प्राप्त गर्न निरन्तर परिश्रम, आत्मविश्वास, अनुशासन र सकारात्मक सोच अपरिहार्य रहेको बताए । उनले युवाहरूलाई अवसरको खोजी मात्र नभई अवसर सिर्जना गर्न सक्षम बन्न प्रेरित गरे । 

कार्यक्रमको प्रारम्भमा विद्यालयका  अतिरिक्त संयोजक तथा नेपाली विभाग प्रमुख हरिप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्व विद्यार्थीहरू विद्यालयका गौरव र पहिचानका संवाहक भएको उल्लेख गरे । मार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य भीम बस्नेतले गरेका हुन्  ।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत ज्ञानपुञ्ज एलुम्नाई संघ–२०८३ को नयाँ कार्यसमिति गठन गरिएको छ ।  नवगठित समितिको अध्यक्षमा  सिद्धार्थ कँडेल, उपाध्यक्षमा दुर्गा पाण्डे, सचिवमा प्रमित थापा तथा कोषाध्यक्षमा सुशान्त बहादुर क्षेत्री चयन भएका छन् । यसैगरी संरक्षकमा प्राचार्य भण्डारी, सल्लाहकारमा डा. प्रयत्न भट्टराई र ईश्वर भट्टराई रहेका छन् । 

नवगठित कार्यसमितिले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यार्थीहित, शैक्षिक सहयोग तथा संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम सामूहिक फोटो, अन्तरक्रिया तथा आत्मीय भेटघाटसँगै सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update