Lumbini Rise
रिसको उपनाम र हाम्रो संस्कार

 


नेपालमा एउटा अनौठो संस्कार बढ्दै गएको देखिन्छ । त्यो हो—रिस उठ्यो भने सम्मानित कुरा र शब्दलाई पनि अपमानजनक उपनाममा बदलिदिने। मन्दिरमा बज्ने पवित्र घन्टी, जसलाई श्रद्धाले बजाइन्छ, कसैलाई गाली गर्दा “घण्टे” बन्न पुग्छ।

सारा जीवजगतलाई प्राण दिने रुख, जसको छायाँ र अक्सिजनमा मानव जीवन टेकेको छ, रिसको झोंकमा “रुखे” बनाइन्छ। उज्यालो दिने सूर्य “सुर्जे” हुन्छ, आकाश सजाउने तारा “तारे” हुन्छ। यस्तो लाग्छ मानौँ रिस आएपछि हाम्रो शब्दकोश नै उल्टो घुम्छ।

हाम्रो समाजमा शब्दको यो रूपान्तरण निकै चाखलाग्दो छ। सम्मानका प्रतीकहरू अचानक अपमानका हतियार बन्छन्। मानौँ रिस भनेको एउटा यस्तो जादु हो जसले पवित्रता नै गालीमा बदलिदिन्छ।

यदि यही शैली चलिरह्यो भने भोलि हलो जोत्ने किसानलाई “हले” भनेर हाँसोको पात्र बनाइनेछ, अनि अन्न उब्जाउने माटोलाई “माटे” भनेर हेपिनेछ।

सोच्नुस् त—जसले हाम्रो पेट भर्छ, जीवन धान्छ, त्यसैलाई हामी अपमानको शब्द बनाउँदैछौँ।
 

कहिलेकाहीँ त यस्तो लाग्छ कि हामीले नयाँ सामाजिक विज्ञान नै आविष्कार गरेका छौँ—“रिस व्यवस्थापनको नेपाली तरिका।” यस तरिकामा रिस शान्त पार्ने उपाय भनेको प्रेम, संवाद, समझदारी वा धैर्य होइन; बरु कुनै पवित्र शब्द समातेर त्यसलाई उपनाममा बदल्नु हो।

यसरी रिस त झन् बढ्छ, तर आफूलाई भने ठूलो जीत हासिल गरेझैँ लाग्छ।अझ भनौं  जान्नेसुन्ने र पढेलेखेकाहरु नै समाजलाई यसैगरी दुषित बनाउन र घृणा फैलाउन लागेपछि के होला ?

कल्पना गरौँ, यदि प्रकृतिका यी सबै वस्तुहरू बोल्न सक्थे भने के भन्थे होला? घन्टीले सायद भन्थ्यो—“म त भक्तिले बजाइन्छु, तर मान्छेहरू एकअर्कालाई गाली गर्दा मेरो नाम किन प्रयोग गर्छन्?”

रुखले पनि गुनासो गर्थ्यो—“म तिमीहरूलाई सास फेर्न अक्सिजन दिन्छु, छायाँ दिन्छु, फल दिन्छु। तर रिस उठ्दा मलाई ‘रुखे’ बनाइदिन्छौ?” सूर्य त झन् हाँस्दै भन्थे होला—“दिनभरि उज्यालो दिएँ, तर मान्छेहरूले मलाई ‘सुर्जे’ बनाएर किन गाली गरेका होलान् ?”
 

यस्तो प्रवृत्तिले समाजमा सम्मानको संस्कृति कमजोर बनाउँछ। जब हामीले राम्रो, पवित्र र उपयोगी वस्तुहरूलाई नै गालीको प्रतीक बनाउँछौँ, तब हाम्रो सोच र संस्कार पनि त्यही दिशातिर झुक्छ। देश निर्माण शब्दको खेलले होइन, विचारको उचाइले हुन्छ। प्रकृति, श्रम र मूल्यलाई सम्मान गर्न सिकेपछि मात्र समाज अगाडि बढ्छ।

नेपाल घन्टीलाई “घण्टे” बनाएर बन्दैन, रुखलाई “रुखे” बनाएर बन्दैन, सूर्यलाई “सुर्जे” बनाएर पनि बन्दैन। नेपाल बन्ने हो भने सम्मान, सहिष्णुता र सभ्य भाषाको संस्कार चाहिन्छ। रिस आउनु स्वाभाविक हो, तर त्यसलाई शब्दको अपमानमा बदल्नु हाम्रो कमजोरी हो। आखिर देश भनेको भूगोल मात्र होइन, त्यो त हाम्रो सोच, व्यवहार र संस्कारको प्रतिविम्ब हो।

लेखक बस्याल प्राध्यापक हुनुहुन्छ । 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update