Lumbini Rise
वर्तमान सन्दर्भमा युवाको भूमिकाबारे तिलोत्तमामा छलफल

 

बुटवल - रुपन्देहीको तिलोत्तमामा वर्तमान सन्दर्भमा युवाहरुको भूमिकाका बिषयमा शनिबार छलफल कार्यक्रम गरिएको छ । युवाका लागि युवा (वाई.एफ.वाई) को आयोजनामा तिलोत्तमा क्षेत्रका विभिन्न क्षेत्रमा आबद्ध युवाहरुको उपस्थितीमा छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अध्येता तथा अध्यापक शंकर भण्डारीले वर्तमान सन्दर्भमा युवाहरुको भूमिकाबारे प्रवचन दिएका थिए । उनले वर्तमान राजनीतिलाई लहड वा भिडका आधारमा भन्दा पनि अध्ययन, तथ्य र तर्कका आधारमा बुझ्न सक्नुपर्ने बताए । अहिले युवा पुस्ताले राजनीतिलाई सहि रुपमा बुझ्न नसक्दा आफ्नो विवेकसम्मत निर्णय गर्न नसकेको बताए ।

उनले अध्ययनले मात्रै प्रश्न गर्ने क्षमताको विकास गराउने बताउँदै अहिले प्रश्न गर्ने समाज नबनेको बताए । उनले जब प्रश्न गर्ने समाज बन्दैन, तब त्यहाँ प्रजातान्त्रिक संस्थाहरु पनि मर्दै जाने बताए । भण्डारीले अध्ययन नगर्ने हो भने हरेक घटना नयाँ जस्तो लाग्ने र त्यसले राजनीतिलाई गलत ठाउँमा पुर्याउने बताए । उनले युवाहरुलाई अध्ययन गरेर मात्रै आफूलाई राजनीतिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

युवाका लागि युवाले तिलोत्तमामा प्रश्न उब्जाउने गरी कार्यक्रम राखेकोमा धन्यवाद दिए । उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयाेजक रवि सेन्चुरी, युवाका लागि युवाका संयोजक जीवन पाण्डे, युवा विद्यार्थी, शिक्षक, उद्यमी लगायतको उपस्थिती रहेको थियो । युवाका लागि युवाले तिलोत्तमा क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update