Lumbini Rise
तिलोत्तमाले कक्षा १ देखि १२ सम्म अनिवार्य १० प्रतिशत छात्रबृत्ति लागू गर्ने 

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यहि शैक्षिक सत्र २०८२ देखि संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रबृत्ति कार्यान्वयन गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८२ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रबृत्रि कार्यान्वयन गर्ने भएको हो । 
नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी नगरपालिकामा रहेका ४२ संस्थागत विद्यालयमा झन्डै २ हजार ३०० सय बढी विद्यार्थीले छात्रावृत्ति प्राप्त गर्ने जनाएको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले कार्यदल गठन गरी सामुदायिक र संस्थागत विद्यालय सुधारका लागि कार्यदल गठन गरी छात्रबृति कार्यान्वयन गर्न लागिएको बताए । उनले कक्षा १ देखि १२ सम्म एकिकृत परीक्षा लिएर छात्रबृत्ति कार्यान्वयन गर्नेमा तिलोत्तमा पहिलो पालिका रहेको दावी गरे । 

नगरपालिकाले गत माघ २८ मा कार्यदल गठन गरी शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग व्यापक छलफल गरि दिएको सुझावका आधारमा सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान र संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि तयार पारेको छ। सोही आधारमा नगरपालिकाले छात्रबृति लागू गर्नेछ।  


नगरपालिकाले जेहेन्दार विद्यार्थी, विपन्न, आदिबासी जनजाति-थारू २० प्रतिशत,  दलित १५ प्रतिशत, मधेशी-मुस्लिम-अल्पसंख्यक-अपाङ्ग १० प्रतिशत र अन्य १५ प्रतिशत छात्रबृत्ति पाउने व्यवस्था गरिएको छ । 

साथै सामुदायिक विद्यालय समायोजन समेत गरिएको छ । तिलोत्तमाले ६ वटा विद्यालय र ७ वटा विद्याललयमा तह मिलान गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । उनका अनुसार विद्यार्थी संख्या कम भएका विद्यालय समायोजन गरिएको बताए ।

विद्यालय समायोजन र तह मिलान गर्दा प्रत्यक्ष ५० लाख आर्थिक बचत भई बढी विद्यार्थी भएका विद्यालयमा लगानी गर्न सकिने उनले बताए । 
परीक्षालाई व्यवस्थित गर्न नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति ,नगरस्तरीय छात्रवृत्ति परीक्षा सञ्चालन समिति, वडास्तरीय छात्रवृत्ति सहजीकरण समितिको व्यवस्था राखिएको छ ।

कार्यपालिका सदस्य विपद तथा वातारण समितिका संयोजक सुरेन्द्र श्रीले तिलोत्तमाले शिक्षालाई व्यवस्थित बनाउन कार्यदल मार्फत कार्यविधि बनाएर सुधार गर्ने उदेश्यले काम गरेको बताए । यस्तै सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले आफूहरुले निकै मेहनत गरेको बताउँदै यसले शिक्षामा ठूलो सुधार गर्ने बताए ।
वडा न. ६ का वडाअध्यक्ष गणेश पाठक, शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्य, शिक्षा शाखाका धनी प्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update