Lumbini Rise
नेकपा एकीकृत समाजवादी लुम्बिनीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र


दाङ– नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष शोमप्रसाद पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ति उपत्यका(देउखुरी)मा मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

सो पार्टिले प्रदेश सरकारको नीति तथा कार्यक्रम तयार गर्दा समावेश गर्नुपर्ने छ वटा प्रमुख बुँदाहरू पेश गरेको छ । लुम्बिनी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने, नेपाली कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै औद्योगिकरणमार्फत आय–आर्जन तथा अर्थतन्त्र सुदृढ गर्ने नीति अवलम्बन गर्ने माग समावेश गरिएको छ ।

त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीको विशेष प्रवर्द्धन र विकासमा जोड दिने, लुम्बिनी प्रदेशभित्र रहेका खानी तथा खनिज स्रोतहरूलाई व्यवस्थित गर्दै राज्यको आयस्रोतमा टेवा पुर्‍याउने र प्रदेशभरिका धार्मिक क्षेत्रको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने विषयहरू पनि मागमा उल्लेख छन् ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, मागहरूलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार गरी लुम्बिनी प्रदेशको समग्र विकासमा जोड दिन सरकारसँग अनुरोध गरिएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउने बारेमा तयारी थालिएको जानकारी दिए । 

ज्ञापनपत्र बुझाउन नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारी, पार्टीका नेताहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update