Lumbini Rise
बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने

बुटवल –  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताएका छन् । 

बुटवल उपमहानगरको मुखपत्र बुटवल दर्पणकोसोमबार विमोचन गर्दै  नगरप्रमुख  पाण्डेयले यस्तो बताएका हुन्। उनले  बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए ।

उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए ।‘स्थानीय राजनीतिक दल, सामाजिक संघ–संस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ’उनले भने ‘यसमा नगरले सधै सबैको साथ र सहयोगको अपेक्षा गर्दै आएको छ ।’ 

उनले तीन वर्षको अवधिमा भएगरेका कामहरुको समीक्षा गर्दै बाँकी अवधिमा बुटवलको हित र पक्षमा काम गर्ने बताए । ‘हामीले कार्यभार सम्हालेको ३ वर्षको समीक्षा गर्दै बाँकी अवधिमा पनि बुटवललाई सबल र समृद्ध बनाउने गरी काम गर्नेछौं’ उनले भने –‘यसमा सबैको साथको जरुरी छ ।’ प्रमुख पाण्डेयले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय जरुरी रहने भएकाले बुटवलको विकासमा सबैको उत्तिकै भूमिका रहने बताए । 

तीनवर्षको कार्यकालका मुख्यमुख्य उपलब्धीहरुलाई समेटेर बुटवल दर्पण प्रकाशन गरेको बताउँदै उनले चालु आर्थिक वर्षमा जारी रहेका कामहरुको विवरण असार मसान्तपछि मात्रै थप गरेर प्रकाशन गर्ने बताए ।  उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्ष र क्षेत्रको साथ र सहयोगको अपेक्षा र सुझावको खाँचो रहेको बताए । 

त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध र सबल शहरका रुपमा स्थापित गर्नका लागि सबैको भूमिका आवश्यक पर्ने बताए । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारका क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक कामहरु भइरहेको र त्यसलाई अझ परिस्कृत गर्दै लैजाने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update