Lumbini Rise
विद्यालयबाटै हराए तीन विद्यार्थी

बुटवल- बाँकेको कोहलपुर नगरपालिका –३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी विद्यालयबाटै हराएका छन् । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का असार २२ गते अपरान्हदेखि विद्यालयबाट सम्पर्कबिहीन भएको खबर आएको बताए । 

उहाँले प्रहरीलाई जानकारी हुने बित्तिकै बालकको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त र विद्यालयका अन्य बालकबाट प्राप्त केही सूचनाबाट उनीहरु भारत गएको आशंका गरिएको बताए । 

‘तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ । अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइयो’ प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो । 

उहाँँले भारतमा पनि आफन्तहरुको माध्यमबाट खोजी गर्ने काम भइरहेको बताए । बालकहरु हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेको गुनासो आफन्तबाट आएको छ । 

बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलका प्रधानाध्यापक विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसोेसम्म स्कूलमै रहेकोमा करिब ४ः३० बजेतिर बाहिर निस्केको बताए। 

विद्यार्थी बेपत्ता भएलगत्तै इलाका प्रहरी कार्यालय, कोहलपुरलाई जानकारी गराएर खोजी कार्य सुरु गरिएको र नेपाल प्रहरीको अनुसन्धान ब्यूरोलाई पत्राचार गरिएको  बताए।

विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको प्रधानाध्यापक केसीको दावी छ । बालकहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको ईलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update