
बुटवल - रुपन्देहीको तिलोत्तमा ४ नयाँ मिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेसन स्थापना गरिएको छ । चार्जिङ्ग स्टेसनको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले आइतबार शुभारम्भ गरेका हुन् ।
कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेसनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरिएको हो । स्टेसनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफरमर जडान गरिएको र ७ वटा चार्जिङ्ग मेसिनबाट दोहोरो सेवा प्रदान गरिएको शशिला मोटर्स प्रा.ली.का महाप्रबन्धक अशोक सुबेदीले जानकारी दिए ।
शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले मुलुकको आर्थिक विकासका लागि इन्धन आयात घटाउनु पर्ने कुरामा जोड दिँदै यसका लागि स्वदेशमा उत्पादित बिद्युत् खपत बढाउनु पर्ने बताए । पछिल्लो समय मुलुकका विभिन्न सहरमा फैलिई रहेको उच्च बायु प्रदूषण र बढ्दो तापक्रम रोक्न विद्युतीय सवारी साधनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै नगर प्रमुख खाँणले यसको प्रयोगले आयात प्रतिस्थापन गर्न एक प्रकारले सहयोगी हुनसक्ने धारणा राखे ।
यस्तै कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का अध्यक्ष दधिराम खरेलले विद्युतीय सवारी साधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउँदै अघोषित लोडसेडिङको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
विद्युतीय सवारी साधनप्रति आम जनताको विश्वास स्थापित गर्न सेवालाई गुणस्तरीय बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष खरेलले चार्जिङ्ग स्टेसनमा अटो वर्कसप र अटो पार्टसको व्यवस्था समेत गरिनु पर्ने कुरामा जोड दिए ।
सो अवसरमा शशिला अटो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा, महाप्रबन्धक अशोक सुबेदी, बिद्युत् प्राधिकरणका सहायक प्रबन्धक रामप्रसाद ज्ञवाली, यातायात व्यवसायी बाबुराम खरेल लगाएतले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग र यसबाट लिन सकिने लाभका बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा शशिला मोटर्स प्रा.ली.बाट हाईगर कम्पनीको विद्युतीय सवारी साधन खरिद गर्ने तिन जनालाई साँचो हस्तान्तरण गरिएको थियो ।