
गुल्मी – अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो गएपछि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक अवरुद्ध भएको हो ।
कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका –६ स्थित डहरे खोला र वडा नं –५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
अहिले पनि लगातार वर्षा भइरहेकाले सडक सुचारु गर्न समस्या परेको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आइरहेका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।