
नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू छात्रवृत्ति प्रदान गरेको छ ।
नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस ९चिकित्सा० अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् ।
नगर शिक्षा ऐनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसका साथै, ३६ जना विद्यार्थीलाई नर्सिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थीहरू पनि यसबाट लाभान्वित भएका छन् ।
विभिन्न विषयमा अध्ययनरत विद्यार्थीहरूले न्यूनतम १० हजारदेखि अधिकतम ६० हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थी तथा अभिभावकमा सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताए ।
‘‘रकम ठुलो सानोभन्दा पनि हामीले प्रोत्साहन गरेका हौँ,’’ उनले भने । उनले मुख्यतः विपन्न र जेहेन्दार विद्यार्थीहरू लाभान्वित होऊन् भन्ने उद्देश्य रहेको पनि स्पष्ट पारे।
आवेदन परेकामध्ये वडा र सम्बन्धित शैक्षिक संस्थाको सिफारिसको आधारमा गरिब, विपन्न, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीहरूको सर्टलिस्टिङ गरी छात्रवृत्ति प्रदान गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको बैंक खातामा सिधै दाखिला गरिनेछ । नगरपालिकाले यस वर्ष छात्रवृत्तिका लागि कुल ६ लाख पाँच हजार खर्च गरेको छ ।