मानव वेचविखनको अभियोगमा कालीदह नाकाबाट चार पक्राउ
मंगलबार, असार १७, २०८२
रुपन्देही – नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट भारत लैजाँदै गरेका तीन भारतीय सहित चार जना पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।यही असार १५ गते दिउँसो साढे ३ बजेतिर शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले तीन जना नेपाली बालिकालाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकाहरूलाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।