Lumbini Rise
मानव वेचविखनको अभियोगमा कालीदह नाकाबाट चार पक्राउ 

रुपन्देही –  नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट भारत लैजाँदै गरेका तीन भारतीय सहित चार जना पक्राउ परेका छन् ।  लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदह नाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

यही असार १५ गते दिउँसो साढे ३ बजेतिर शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदहबाट खटिएको प्रहरी टोलीले तीन जना नेपाली बालिकालाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको हो । बालिकाहरूलाई अवैध रूपमा सीमा पार गराउन खोज्ने चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीहरूमा भारत उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगंज कुवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका–६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू लामो समयदेखि सीमा क्षेत्रमा सक्रिय रहेर नेपाली बालबालिका र किशोरीहरूलाई विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयासमा संलग्न थिए । नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update