Lumbini Rise
ग्रामीण विकास लघुवित्तकाे साधरणसभामाथि नै प्रश्न : शेयर सदस्यहरु भन्छन्-'हामीलाइ प्रवेश निषेध गरेर के गर्न खाेजेकाे ?'

बुटवल-  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ । बुटवल स्थित पाम इन्टरनेश्नल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो ।

साधरणसभामा करिब सय जनाका लागि कुर्ची राखिएको भए पनि सञ्चालक समिति सदस्यहरू र केही शेयर सदस्यहरु मात्रै सहभागी थिए । सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको मिलेमतोमा औपचारिकताका लागि मात्रै साधरणसभा गरेको कर्मचारी सङ्गठनको आरोप छ । 

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि शेयर सदस्यहरूलाई सहभागी नै नगराई अवैध रूपमा साधारण सभा गरेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले बताए । कर्मचारी सङ्गठनले कार्यक्रम स्थलमा कालो कालो ब्यानर सहित विरोध प्रदर्शन गरेका थिए । कर्मचारीमध्येका शेयर सदस्यहरूलाई प्रवेशमा प्रहरीले पूर्ण रोक लगाएको थियो । सर्वसाधरणसतर्फका शेयर सदस्यहरूलाई सूचना समेत नगरी ढोका थुनेर आफू अनुकूलको निर्णय गर्न साधारणसभा गरिएको शेयर सदस्य लिलामाया थापाले बताइन । उनले आफूहरूले गरेको लगानी फिर्ता गर्नुपर्ने माग राखिन् । 

साधारण सभामा शेयर सदस्यहरूलाई नै सहभागी नगराएर के गर्न खोजेको भन्दै शेयर सदस्य सरस्वती न्यौपानेले सञ्चालकहरूसँग प्रश्न गरेकी छन् । उनले आफूहरू शेयर सदस्य हुनुको नाताले दसौँ साधारण सभामा पेस हुने प्रस्तावहरूमा छलफल गर्न पाइएला भन्दा सुरुमा प्रवेश नदिइएको र प्रवेश गर्नासाथ साधरणसभा सकाइएको बताइन । साधरणसभामा प्रहरी सुरक्षा घेरामा गरिए पनि शेयर सदस्य र कर्मचारीहरूले विरोध भने यथावत् देखिएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था राष्ट्रिय कर्मचारी सङ्गठनले समाज लघुवित्त वित्तीय संस्थासँग अवैधानिक रूपमा स्वार्थका लागि मर्जरमा जान खाेजेको भन्दै विरोध गर्दै आएको छ । आर्थिक वर्ष २०८०-८१ को वित्तीय सूचकाङ्क ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तुलनामा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी २.३ प्रतिशत, निक्षेप सङ्कलन ४.५ प्रतिशत, ऋण लगानी ३.६ प्रतिशत, सदस्य ३.४ प्रतिशत र ऋणी ३.८ प्रतिशत रहेको उल्लेख गर्दै हरेक सूचकहरू ५ प्रतिशत भन्दा कम भएको संस्था छानेर नाम मात्रको संस्थासँग मर्जर गर्न खोजेको सङ्गठनले विरोध ब्यानरमा लेखेको छ । 

मर्जरजस्तो कर्मचारी वर्गमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई नजरअन्दाज गरी आधिकारिक ट्रेड युनियनसँग कुनै प्रकारको औपचारिक छलफल, संवाद तथा परामर्श नगरी विरोधका बाबजुद पनि साधरणसभा गर्नुले बदमासी भएको पुष्टि गर्ने अध्यक्ष लुइँटेलको तर्क छ । 

दसौँ साधारण सभाको विशेष प्रस्तावमा समाज लघुवित्त संस्था लिमिटेडसँग गाम्भे प्रस्ताव पारित गरेको छ । भर्चुअल सहभागी गराएर हतार हतारमा प्रस्तावहरू पारित गराइएको स्वयम सञ्चालकहरू बताउँछन् । कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै व्यक्ति हुन नमिल्ने प्रावधान रहे पनि श्याम कुमार कटुवालले दुवै जिम्मेवारी समालेका छन् । २०८१ साल फागुन १७ गते समाज लघुवित्त वित्तीय संस्थासँग एकीकरण (मर्जर) गर्ने सम्झौता गरिएको थियो । तर, समझदारीबारे शेयर सदस्य र कर्मचारीहरूलाई भने साधारण सभा गर्ने मिति तय भएपछि मात्रै जानकारी गराइएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कटुवालले आफ्नो कार्यकाल लम्ब्याउन र केहीलाई जागिर दिनका लागि  कमजोर वित्तीय अवस्था रहेको संस्थासँग मर्जर गर्न लागेको उपाध्यक्ष केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीले बताए । यता प्रमुख कार्यकारी अधिकृत कटुवालले भने कर्मचारीहरूको विरोधका कारण प्रहरीलाई सुरक्षाका लागि खबर गरेको बताए । उनले साधारण सभा विधि सम्मत भएको दाबी गर्दै शेयर सदस्यहरूलाई नरोकेको बताए । तर उनले त्यसो भने पनि शेयर सदस्यहरू प्रवेश नपाएको भन्दै विरोध गरेका थिए ।

साधरणसभाको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको थियो । ग्रामीण लघुवित्त वित्तीय संस्थामा सरकार सहित विभिन्न सङ्घसंस्था ७० र सर्वसाधारण ३० प्रतिशत शेयर रहेको छ । जसको ९८ लाख २५ हजार शेयर कित्ता रहेको छ । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update