Lumbini Rise
तिलौराकोट  विश्व सम्पदामा सुचीमा सुचीकृत नहुने 

बुटवल– प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचिन कपिलबस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत नहुने भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औं बैठकले गौतम बुद्धले २९ बर्ष बिताएको शाक्यबंशकाे राजधानी सहर प्राचिन कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव विफल भएपछि सुचीकृत हुने सपना चकनाचुर भएको हो।

युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिले नै डिफर (स्थगन)  सूचीमा राख्ने प्रस्ताव गरि प्रतिवेदन बनाएको थियो ।

सोही प्रतिवेदनमा २१ सदस्य राष्ट्रयहरुमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत हुने याेजना असफल भएकाे लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । ‘कुनै पनि सदस्य राष्ट्रहरुले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन्’ उनले भने । 

तिलौराकोटको प्रस्तावलाई इकोमसको प्रतिवेदनलाई हुबहु पारित गरेपनि भारतको मार्था मिल्टरी ल्याण्डस्केपलाई जापानले सूचीकृतका लागि संशोधन प्रस्ताव राखेपछि अन्य सदस्य राष्ट्रहरुले समर्थन गरेर अगाडि बढाइएको छ ।

नेपालको प्रस्तावमा मुख्यगरी छिमेकी देश भारत मौन मात्रै बसेन । भारत सरकारले नै युनेस्कोलाई पत्राचार नै गरेर कपिलबस्तुको तिलौराकोटलाई सुचीकृत प्रस्ताव नै नलैजान दवाव दिएको श्रोतको भनाई छ ।

भारतका अधिकारीहरुले सबै सदस्य राष्ट्रहरुलाई भेटेर डिफर(स्थगन) को प्रस्तावलाई रिफर(लेजाने) पक्षमा संशोधन नहाल्न भनेको बुझिएको छ । भारतले तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दावी गर्दै आइरहेको छ । यसैकारण पनि भारत बाधक रहेको हुनसक्ने बुझिएको छ । 

यसअघि ४७ औं युनेस्को बेठकमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृत हुने अपेक्षा गरिएको थियो । तर, लामो समयको अध्ययन पश्चात प्रमाण संकलन गरेर विश्व सम्पदा सूचीमा सुचीकरण हुने अपेक्षा गरेकोमा नभएपछि स्थानीय स्तरमा चिन्ता व्यक्त गरिएको छ ।

कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले यो पटक सूचीकृत हुनेमा आशावादी भएकोमा त्यसो नहुँदा निकै दुःख लागेको बताए ।

उनले स्थानीय सरकारका हिसाबले विश्वसम्पदा सुचीमा सुचीकृत गराउनका लागि सम्पदा संरक्षण गर्ने प्रतिबद्धता जनाएको बताउँदै यो पटक कुटनितिक पहल कमजोर भएको बताए । ‘हामी सहयोग गर्न तयार छौं, कुटनितिक पहल अझ बढाउन जरुरी छ’ उनले भने । 

नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई सहितको टोलीले फ्रान्समा पहल समेत गरेको थियो । 

तिलौराकोटलाई विश्व सम्पदा स्थल बनाउनका लागि अन्तिम मनोनयन दस्ताबेज सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोमा स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि राजदूत डा. सुधीर भट्टराईले पेरिसस्थित युनेस्कोको विश्व सम्पदा केन्द्रमा बुझाएको थियो । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update