Lumbini Rise
प्रेम प्रस्ताव अस्विकार गर्दा बुटवल बुद्धनगरमा युवतीमाथि गाेली प्रहार, चितवनमा उपचार


बुटवल - बुटवल ११ बुद्धनगरमा युवतीमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता सुरज कार्कीका अनुसार गोली प्रहार गर्ने युवकको नाम पहिचान भएको बताएका हुन् । उनका अनुसार सितारे आलम अन्सारी  नाम खुलेको तर ठेगानाका बिषयमा अझै यकिन भइसकेको छैन । ‘गोली प्रहार गर्नेको नाम खुलेको छ, तर भारतीय हो वा नेपालकै भन्नेबारे यकिन गर्दैछौं’ उनले भने ।


शनिबार विहान साँढे ८ बजेतिर पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्वनगरमा डायक्सन फूड एण्ड वयभरेज सञ्चालक २९ बर्षिय टिका बिष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाईते विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पश्चात भैरहवा स्थित मेडिकल कलेजमा लगिएपनि त्यहाँ गोली निकाल्न नसकेपछि चितन स्थित भरतपुर अस्पताल उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कार्कीले घाईतेको अवस्था मध्यम रहेको जनाए । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका ती युवाले प्रेम प्रस्ताव अस्विकार गर्दा होटल सञ्चालक विष्टमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

यसअघि पनि ती युवकले बन्दुक देखाएर अपहरणको शैलीमा लगेको र पछि प्रहरीले खोजतलास गरेपछि छाडेको बुझिएको छ । युवकले विष्टलाई सापटी पैसा दिएको र त्यसवापत प्रेम स्विकारका लागि दवाव दिने गरेकोमा युवतीले प्रेम अस्विकार गरेपछि हत्याको प्रयास गरेको हुनसक्ने प्रहरीले जनाएको छ । ढाडमा गोली लागेकी विष्ट घाईते अवस्थामा बाहिर निस्कदा सिढिमा समेत रगतको टाटा बसेको छ । स्थानीयहरुले पानी परिरहेको बेला मौका छोपेर योजनाबद्ध रुपमा गोली प्रहार गरेको देखिएको बताएका छन् । 

घटनास्थलमा सिसिटिभि क्यामेरा रहेकाले नाम समेत पहिचान भइसकेकाले प्रहरीले पक्राउका लागि बिशेष टोली खटाएको छ । नवलपरासीको महेशपुर नाकातर्फ प्रहरी टोली खटिएको जनाइएको छ ।
 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update