-1756547445.jpg)
नवलपरासी -नवलपरासी पश्चिम,तीन वर्षदेखि अलपत्र परेको नवलपरासी पश्चिममा सुनवल नगरपालिका–५, वनकट्टीमा नगर अस्पतालको भवन निर्माणको काम सुरु भएको छ ।
वि. स. २०७८ भदौ २० गते करिब ९ करोड ४६ लाखमा सम्झौता भई निर्माण कार्य सुरु भएको नगरअस्पताल स्वास्थ्य मन्त्रालयले डिपिआर परिमार्जन गर्नुपर्ने भन्दै स्वीकृति दिन नमानेपछि तीन महिनापछि निर्माण कार्य रोकिएको थियो ।
उता अस्पतालको नाममा स्वामित्व नभएको भन्दै जग्गा विवादको अख्तियारमा मुद्दा र ठेकदारद्वारा अदालतमा मुद्दा समेत तत्कालीन स्थानीय सरकारले खेपिरहेको थियो ।
करिब ३ वर्षपछि वि।स। २०८१ पुसमा सबै समस्या फुकाएर पुनः नगरअस्पताल निर्माण कार्यलाई अगाडि बढाइएकाले हाल अस्पतालकै स्वामित्वमा जग्गा रहेको सुनवल नगर प्रमुख विमला अर्यालले बताए।
नगर अस्पताल निर्माणसगैँ हालसम्म सामान्य उपचारका लागि छिमेकी जिल्ला बुटवल र चितवन जानुपर्ने जनताको बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
१८ महिनाभित्र सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतासहित एन।बि। कन्ट्रक्सन बुटवललाई ठेक्का दिइएको छ । नगरअस्पताल लिफ्ट सिस्टम, अपाङ्गमैत्रीसहित १५ शय्याको तीन तलाको अध्याधुनिक सुविधा सम्पन्न हुने छ ।
सुनवल नगरपालिकाको गौरवको योजनामध्ये रहेको नगर अस्पताल निर्माणसगैँ १३ वटा वडाको ७५ हजार स्थानीयहरु प्रत्येक्ष लाभाम्बित हुने वडा ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीले बताए ।
निर्माणकार्य सम्पन्न पश्चात एक एमबिबिएस डाक्टरसहित अस्पताल सञ्चालनमा ल्याइने सुनवल नगरपालिकाले जनाएको छ ।