Lumbini Rise
गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग

काठमाडौँ- औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ ।  

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप अनुसन्धानका लागि सुपुष्प लामालाई संयोजक तोकेर छानविन गरिरहेको जानकारी दिए।

उनले समितिले गुणस्तरहीन औषधी बिक्री गर्ने कम्पनीका व्यक्तिहरुलाई बोलाएर सोधपुछ, अनुसन्धान तथा छानविन गर्ने काम भइरहेको बताए।

विभागले उजुरीको आधारमा एक साता अगाडि विभागको अनुगमन टोलीले कलंकीस्थित कम्पनीको कार्यालयमा छापा मार्दा गुणस्तरहीन जीवनरक्षक औषधी अनाधिकृत आयात गरी बिक्री गर्दै आएको पुष्टि भएको थियो ।

कलंकीस्थित  सफल स्वास्थ्य सेवाले औषधी व्यवस्था विभागले प्रतिबन्धित गरेको औषधी नेपालमा ल्याएर अस्पतालहरुमा बिक्री गर्ने गरेको थियो ।

विभागको टोलीले जफत गरिएका कम्प्युटर लगायतका उपकरणबाट औषधी आयात गरिएको र विभिन्न अस्पतालमा वितरण गरिएको पत्ता लगाएको थियो ।

सफल स्वास्थ्य सेवा प्रालिले भ्यालेन्ट्रोन हेल्थ केयरद्धारा उत्पादित औषधी भ्लेक्जोन १ ग्राम गुणस्तरहीन भएपछि औषधी व्यवस्था विभागले आयात अनुमति नै रद्द गरेको थियो ।

आयात अनुमति पत्र रद्द भइसकेपछि एलसी मार्फत ठुलो परिमाणमा औषधी आइरहेको र बिक्री भइरहेको सूचना पाएपछि विभागले उक्त कम्पनीमा छापा मारेको थियो । विभागले छापा मार्दा एक लाख ६५ हजार १५ भाईल इन्जेक्सन मात्रै मौज्दात रहेको पाइएको थियो ।

औषधी व्यवस्था विभागले सफल स्वास्थ्य सेवा प्रालिले ल्याएको सो औषधीको विषयलाई सार्वजनिक सूचनाको रुपमा बाहिर ल्याउन सकेको छैन ।  ठुलो परिमाणमा औषधी आयात गर्न एलसी खोल्न पर्छ ।

तर यसका लागि आयात अनुमति पत्र अनिवार्य हुन्छ । औषधी व्यवस्था विभागले ल्याउन लागेको औषधीको गुणस्तर फेल भएका कारण सफल स्वास्थ्य सेवा प्रालिले नवीकरणका लागि दिएको अनुमति पत्र २१ जेठ २०८२ मा रद्द गरिदिएको थियो ।

 सो कम्पनीले प्रभु बैकको थानकोट शाखाबाट भ्लेक्जोन १ ग्राम आयातका लागि  ३ असार २०८२ मा एलसी खोल्न सफल भएको छ । सामान्य त नवीकरण नभएको अनुमति पत्रका आधारमा बैंकले एलसी खोल्न मिल्दैन । 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update