
बुटवल- पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा सुक्खा पहिरो खस्दा मंगलबार मध्याह्नदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक विस्तार क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहेका बेला सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार बाटो खोल्ने प्रयास भइरहेका छ। ‘काम भइरहेको बेला सडक तलबाट भासिएको छ, अहिले सडक खुलाउने प्रयास जारी छ’, उनले भने।
दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो गएको हो। पहिरो खसेपछि साना सवारी र यात्रुवाहक बसका यात्रुलाई झारेर सवारी पास गराइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए।
सडक अवरुद्ध भएपछि मालवाहक र ठूला सवारीसाधान पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ।