Lumbini Rise
पत्रकार विश्वकर्मामाथि आक्रमण गर्नेलाई कारवाही गर्न अल्टिमेटम


भैरहवा – पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको एक समूहले सोमबार गरेको आक्रमणमा संलग्नमाथि तत्काल कारबाहीको गर्न  माग गरिएको छ ।

 नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लब, रुपन्देहीले समाचार संकलनका क्रममा एपीवान टेलिभिजनका संवाददाता  विश्वकर्मामाथि भएको आक्रमणमा संलग्नलाइ कारवाही गर्न माग गरिएकाो हाो ।  रुपन्देहीको मायादेवी गाउँपालिका–६, मर्चवारमा सोमबार तस्करहरुको समूहले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गरेका थिए ।


दुबै संस्थाले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै घटना गम्भीर रहेको र तस्करहरुले समाचार संकलनका लागि हिंडेको पत्रकारलाई घेराबन्दी गरी संचार उपकरणमा क्षति पुर्याउनु, दुव्र्यवहार गर्नु र खिचिएको भिडियो मेटाउन लगाउनु प्रेस स्वतन्त्रता विरोधी गतिविधि भएको जनाएका छन् । ‘त्यस्ता व्यक्ति र समूहलाई कडाभन्दा कडा कारबाही होस्’, ज्ञापन पत्रमा भनिएको छ, ‘स्थानीय प्रहरी अधिकारीकै उपस्थितिमा क्यामेरा खोसेर दृश्य हटाउन बाध्य तुल्याउनु प्रेस स्वतन्त्रता विपरीत कार्य हो ।’

दुवै संस्थाले घटनामा संलग्न तस्कर दीपेश यादव समूहलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । लुम्बिनी प्रेस क्लवका महासचिव प्रकाश न्यौपाने र अध्यक्ष कमल रायमाझीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा घटनाको जानकारी गराउने बित्तिकै प्रहरीले आक्रमण प्रयासमा संलग्न आरोपी दीपेश यादव पक्राउ परिसकेको जनाएको उल्लेख छ । ‘प्रहरीले दिउँसो आरोपी पक्राउ परिसकेको र कारबाहीको दायरामा ल्याइने जनाए पनि सोमबार साँझ यादव पक्राउ नै नपरेको दावी गर्नुले घटनामा सुरक्षा निकायको मिलेमतोको आंशका बलियो भएको’, ज्ञापपत्रमा भनिएको छ ।

उक्त समूहले सामान ओसारपसार गरिरहेको दृश्य खिच्ने क्रममा विश्वकर्मालाई घेरा हालेर भौतिक आक्रमण प्रयास गरेको र क्यामेरामा कैद गरिएका दृश्य हटाउन बाध्य पारेको उल्लेख गरेका छन् । तत्काल छानबीन गरेर दोषीलाई कारबाही गर्न प्रेस क्लवद्वारा बुझाइएको ज्ञापनपत्रमा माग गरिएको छ ।

पत्रकार महासंघ, रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डेले ज्ञापनपत्र बुझाउँदैं समाचार संकलनमा खटिएका पत्रकारमाथि सामूहिक आक्रमणको प्रयास हुनु आफैंमा संवेदनशील विषय भएको बताए ।

क्यामेरामा कैद गरिएका दृश्य प्रहरीकै सामु हटाउन लगाउनु अत्यन्त गम्भीर बिषय भएको जनाउँदै उनले झन पक्राउ परेर प्रहरी हिरासतमा रहेका भनिएका व्यक्ति भाग्नु गम्भीर लापरबाही भएको बताए । महासंघले घटनालाई सामान्य रुपमा नलिन र दोषी पक्राउ गरेर तत्काल कारबाही गर्न माग गरेको छ ।

यस्तै, महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले घटनालाई सामान्य रुपमा नलिइ संलग्नलाई कारबाहीको माग गरे । प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वतन्त्र रुपमा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि आक्रमण प्रयास गरिनु दुःखद भएको जनाए । क्यामेरामा कैद गरिएका दृश्य प्रहरीकै सामुन्ने हटाउन लगाएको साँचो भए झन गम्भीर भएको जनाउँदै यसबारे छानबीन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए ।

छानबीनका क्रममा प्रहरीले पक्राउ गरिसकेका आरोपी हिरासतबाट भगाएको पुष्टी भएमा संलग्न सबैलाई उनीहरुको कसुर अनुसार सजाय गरिने उनले आश्वासन दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update