Lumbini Rise
‘मेरुदण्ड, हाडजोर्नी तथा बाथ रोगको उपचारका लागि बुटवल वाहिर जानु पर्दैन’
हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ  डा. युधिष्ठिर राज खड्का

आजभोली मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने, कम्मर र घुँडा दुख्ने समस्या बढ्दै गइरहेको छ । यी समस्याहरु देखिएमा मानिसहरु हिंडडुल गर्न समेत सक्दैनन् । अहिले उपचार नै नपाएर कुँजिएर बस्न पर्ने अवस्था मेडिकल विज्ञानले चिरेको छ । केही बर्षअघिसम्म मेरुदण्डको अपरेशन, घुँडाको प्रत्यारोपण बुटवलमा असम्भव जस्तै मानिन्थ्यो । मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा कम्मर दुख्ने समस्याको उपचारका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । तर अहिले यो समस्या अन्त्य भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेरुदण्ड, हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ  डा. युधिष्ठिर राज खड्कासँग यिनै समस्याबारे कुराकानी गरेका छौं । 

हाडजोर्नी र मेरुदण्ड सम्बन्धी समस्या कसरी उत्पन्न हुन्छ ?

हाडजोर्नी सम्बन्धी समस्याहरु विभिन्न कारणहरुले देखा पर्छन् । कुनै जन्मजात हुन्छन् भने कुनै चोटपटक र दुर्घटना जस्ता कारणले हुन्छन् । कुनैकुनै समस्या खानपान र रहनसहनले सिर्जना गर्छ । बाथ, ट्यूमर, क्यान्सर, इन्फेक्शन जस्ता रोगहरुको कारणले पनि हाडजोर्नी सम्बन्धी समस्याहरु देखिन्छन् ।

त्यस्तै मेरुदण्डको समस्या पनि कोही जन्मजात हुन्छ । कसैको जन्मजात नै मेरुदण्ड बाङ्गो हुन्छ । मेरुदण्डको नशा अथवा हड्डी वरिपरि हुने क्यान्सर, टि.बि. जस्ता रोगहरु समस्याका कारक हुन् । मान्छेहरुमा हुने जिनको कारणले पनि मेरुदण्डको समस्या निम्त्याउँछ । दुर्घटनापछि पनि समस्या देखिएको हुन्छ । यस्तै विस्तारै उमेर बढ्दै जाँदा हाडजोर्नी खिईने समस्या पनि देखिने गर्छ ।

तपाई लामो समयदेखि बुटवलमा मेरुदण्ड, हाडजोर्नी, नशा,जोर्नी प्रत्यारोपणको उपचारमा संलग्न हुनुहुन्छ । अझै पनि मानिसहरुमा यस्ता समस्याहरुको बुटवलमा उपचार हुँदैन कि भन्ने आशंका छ । यो उपचार यहाँ सम्भव छ त ?

बुटवलमा यी रोगहरुको उपचार सम्भव छ । अहिले बुटवल र आसपास धेरै प्रकारका शल्यचिकित्सा, परामर्श, उपचार भइरहेका छन् । प्रविधि र सुविधाका हिसाबले यहाँ उपचार हुन्छ । पहिला बुटवलमा नहुने समस्याहरुको पनि अहिले डाइग्नोसिस गर्न सक्ने र उपचार गर्न सक्ने अवस्थामा छौं ।

पहिलापहिला नहुने डाइग्नोष्टिक टुल्सहरु एमआरआई, सिटि स्क्यान, उपचारका लागि सर्पोट गर्ने ल्याबका टेस्टहरु, उपचारमा प्रयोग हुने दुरविनहरु, माइक्रोस्कोपहरु, औजारहरु अहिले बुटवलमा उपलब्ध छन् । त्यस अर्थमा अहिले काठमाडौंमै गएर उपचार गर्नुपर्ने बाध्यतामा बिरामीहरु छैनन् । यसकारण प्राविधिक, ल्याब र चिकित्सकीय हिसाबले बुटवलमा उपचार गर्न सक्ने अवस्थामा छौं ।  

हाडजोर्नीको समस्या बढि देखिएको हो ?

हाडजोर्नीको समस्या पहिलेदेखि नै हाम्रो समाजमा विद्यमान थियो । पहिला उपचार नपाएर मानिसहरु घरमै बस्नुपर्ने बाध्यतामा हुन्थे। खुट्टा बाङगो हुँदा त्यसरी नै टेकेर हिड्ने, चोटपटक लागेमा काप्रो बेरेर हिड्ने, संक्रमण भएर, क्यान्सर भएर वितेका मान्छेहरु पनि हाम्रो समाजमा थिए ।

मेरुदण्डको हाडहरु कुप्रो भएर, जोर्नीहरु खिइएर हिड्न नसक्ने कुँजो जस्तो भएर बस्ने मानिसहरु पहिले देखि नै थिए । तर, उनीहरुको निदान र निवारण भएन ।

पहिले जस्तो भित्रपट्टी खुट्टा फर्काएर हिड्नु पर्दैन । उपचार हुन्छ । जोर्नी खिइएको, मेरुदण्ड बाङगो छ भने उपचार हुन्छ  ।

हाडजोर्नीहरुको उपचार सम्भवछ । जस्तो की सवारी साधनमा दुर्घटना हुने, रुखबाट खसेर मेरुदण्ड भाँचिने, बच्चाहरु लडेर हुने समस्याको उपचार छिटो हुन्छ । मेरुदण्डको चोटपटक लाग्दैमा काठमाडौ जानुपर्दैन ।

मेरुदण्ड बाङ्गो भएको कसरी थाहा पाउने ?

कपडा लगाउँदा, हिड्दाडुल्दा थाहा हुन्छ । बच्चाहरुको कपडा चेञ्ज गर्दा, स्कूलमा शिक्षकहरुले पनि थाहा पाएर अभिभावकहरुलाई भनिदिनुहुन्छ । ठूलो मान्छेहरु आफै हिड्दा पनि थाहा हुन्छ ।

बाङ्गो भएको ऐना हेर्दा पनि थाहा हुन्छ । कतिपयको ढाड बाङ्गोसँगै दुखाई पनि हुन्छ । त्यसरी पनि थाहा हुन्छ । बुढो मान्छेहरुको खिइएर पनि बाङगो हुन्छ । कहिलेकाहीँ दुखाई पनि हुन्छ । जन्मजात बाङ्गो पनि हुन सक्छ । बढ्ने उमेरमा बाङ्गो पनि हुनसक्छ ।


तपाईले पनि बुटवलमा जोर्नी प्रत्यारोपण गर्नुभएको छ ? खासगरी कस्तो अवस्थाका बिरामीहरु प्रत्यारोपणमा आएका छन्?

बुटवलमा जोर्नी प्रत्यारोपणमा आउने बिरामीहरु बिशेष गरीे  उमेर पुगेर आउनेहरु छन् । बुढो भएपछि खिइएर, हिपहरु चल्न नसक्ने, दुखाई भएर आउनुहुन्छ । कहिलेकाहीँँ हाई भेलोसिटि इन्जुरीहरु, रोड एक्सीडेन्ट भएर प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैगरी उपचारपछि बाङगो जोडियोभने,  जोर्नी खिइएर काम नलाग्ने भयो भने पनि प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

कतिपय मानिसहरुको हिपमा रगत सप्लाई नभएर, वाथका कारणले पनि जोर्नी प्रत्यारोपण गर्नुपर्छ ।जोर्नी प्रत्यारोपण, मेरुदण्ड सम्बन्धीसेवा, हाडजोर्नी, नशा, बाथ रोगको उपचार लगायतका सबै सेवाहरु बुटवलमा नै सरकारी तथा निजी स्वास्थ्य संस्थामा सहजै उपलब्ध छन्  । बिरामीहरु बुटवलमा यी सेवा लिन पाइएन भनेर फर्कनु पर्दैन ।

हड्डी बलियो बनाउनेबारे मानिसहरु कति सचेत छन् ?

हो, हड्डी बलियो बनाउने बारेमा हरेक व्यक्ति सचेत हुनुपर्छ । तर हामीकहाँ नियमित व्यायम नगर्ने, बसाई, हिडाई, खानपानमा लापरवाही गर्ने देखिन्छ । जनचेतनामुलक कार्यक्रमहरु प्नि कम छन् । पब्लिक हेल्थसँग सम्बन्धित व्यक्तिहरुबाट पनि पर्याप्त काम भएको छैन । स्वास्थ्यभन्दा कामलाई प्राथमिकता दिने व्यक्तिहरु छौं ।

नियमित व्यायम गर्ने, लामो समय बसेर कामगर्दा पोजिशनमा ध्यान दिनुपर्छ । खानेकुरा पोषणयुक्त हुनुपर्छ । हड्डी बलियो बनाउने खनिज पदार्थहरु मिलाएर खानुपर्छ । जस्तै दूध, अण्डा, माछामासु खानुपर्छ । प्रोटिन, कार्बोहाईड्रेड मिलाएर पौष्टिक आहार बनाएर खाने गर्नुपर्छ ।मुख्यत खानपानसँगै ब्यायम गर्‍यौं भने हड्डी बलियो बनाउन सक्छौं । 

जाडोमा जोर्नी दुख्ने, दुर्घटना हुँदा भाँचिएको भाग दीर्घकालसम्म दुख्छ भन्छन नि?

जाडोमा जोर्नीहरु दुख्न सक्छ । जाडोमा रक्तनलीहरु संकुचन हुन्छन् । संकुचन भएपछि रगत सप्लाई कम हुन्छ । मांसपेशीहरु कठ्याङ्ग्रिएर बस्छन् । भाँचिएका हड्डीहरु राम्रोसँग जोडिएन भने, बढी काम गरियो भने दुख्न सक्छ । यसो हुँदैमा डराउन पर्दैन ।

कम्मर किन दुख्छ ?

चारखुट्टे जनवारहरुको कम्मर दुख्दैन । ठाडो उभिएर हिँड्ने भएकोले ८० प्रतिशत मान्छेहरुलाई कम्मर दुख्छ । जीवनको कुनै न कुनै कालखण्डमा यो समस्या देखिन्छ ।

हामीले एउटै पोजिशनमा बसेर काम गछौं । अफिसमा कुर्चीमा बसिरहेका हुन्छौं । बसाईको पोजिशन नमिलेर कम्मर दुखाई हुन्छ । चोटपटक, गह्रौं काम गर्दा हुने स्ट्रेशले पनि कम्मर दुख्छ ।

शरीरमा खनिज तत्वको कमिले दुख्छ । रोगका कारणले पनि ढाड दुख्छ । मेरुदण्डको टि.बि., क्यान्सर, बाथ, संक्रमण जस्ता रोगहरु ढाड दुखाईका प्रमुख कारणहरु हुन् । यसका अलावा हड्डी खिइएर नशा च्यापिएमा  पनि दुखाई हुन्छ । धेरैजसो हाम्रो असावधानीले  नै दुख्छ ।

नशा च्यापिने समस्या धेरै देखिएको हो ?
हिले यो समस्या निकै धेरै देखिएको छ । हेभिवर्क गर्ने व्यक्ति र अफिस वर्करहरुमा यो समस्या देखिएको छ । त्यसैगरी लामो समय एउटै पोनिशनमा बसेर काम गर्ने मानिसहरुमा यो समस्या देखिन्छ ।

धेरैजसो मेरुदण्डको हड्डी खिइएर  नशा च्यापिने गरेको छ । मेरुदण्ड सम्बन्धी समस्या भएकाहरुमध्ये ६०/७० प्रतिशतलाई यो समस्या देखिएको छ । चाहिने भन्दा बढि बसाई, उच्च तौल तथा भारी काम भएर यो समस्या देखिएको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिला हाडजोर्नी सम्बन्धी समस्याहरुबाट बच्नकालागि व्यायम गर्नुपर्छ । व्यायम गर्दा हड्डी र मासुलाई सहि ठाउँमा राख्न सकिन्छ । खानपानमा ध्यान दिनुपर्छ । ब्यालेन्स डाईट खाने, तौल कन्ट्रोल गर्ने, बसाई मिलाउने काम गर्नुपर्छ ।

यसो गरेमा धेरै हदसम्म हाडजोर्नीे, नशा, मेरुदण्डका समस्याहरु कम हुन्छन् । म यो विषयको बिज्ञ भएको नाताले मेरुदण्ड, हाडजोर्नी, नशा च्यापिने तथा जोर्नी प्रत्यारोपण गर्नु पर्ने अवस्था भएमा बुटवलमा नै शुलभ तरिकाले उपचार हुन्छ भन्ने कुरा जानकारी गराउन चाहन्छु । 

Ayush-1764689212.jpg


 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update