बुटवल – लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउनुपर्नेमा जोड दिएका छन् । बुटवलमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले स्वास्थ्य सेवामा पहुंच मात्र नभई गुणस्तरियता पनि हुनुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवा गुणस्तरीय भएमा मात्र नागरिकको जीवन बाच्ने भन्दै गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरे । त्यस्तै मन्त्री सारुले रुपन्देही हेल्थ टुरिजमको रुपमा गुल्जार समेत हुँदै गएको बताए । रुपन्देहीमा रहेका स्वास्थ्य संस्थाहरुले दिने सेवा प्रभावकै कारण धेरै जनताले लाभ लिएको बताउँदै रुपन्देही अब स्वास्थ्य पर्यटनको रुपमा विकासित भएको बताए ।
बुटवलमा निर्माणधिन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य यस वर्ष ४५ प्रतिशत पुग्ने बताउँदै प्रादेशिक अस्पतालमा सुरु हुने विशिष्टकृत गुणस्तरीय सेवाले रुपन्देही स्वास्थ्यको हव बन्ने बताए । उनले प्रादेशिक अस्पतालका लागि यस वर्षमा आवश्यक १ अर्ब ६ करोड रुपैयाँ व्यवस्थापन गरेर अस्पताल निर्धारित समयमै सकिने विश्वास समेत व्यक्त गरे । सेवा प्रदायक स्वास्थ्य संस्थालाई मन्त्रालयको तर्फबाट सहयोग गर्न नपाएको स्मरण गर्दै मन्त्री सारुले आगमी वर्षको बजेटबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि बजेट नदिदा स्वास्थ्य क्षेत्रमा परिणामुखी उपलब्धी हासिल हुन नसकेको बताए । त्यस्तै पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यले लगानी गर्नुपर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुटु अस्पतालका लागि आवश्यक जग्गा बुटवल भित्रै खोजि हुनुपर्ने बताउँदै अस्पताललाई बुटवल बाहिर जान नदिने आफूहरुको चाहना रहेको बताए ।
कार्यक्रममा उपमहागनरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, रोटरी ३२८२ नेपाल भुटानका अध्यक्ष राजेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगाएतले बोलेका थिए । कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष एजाज आलमले यस अस्पतालले स्थापनाको १२ वर्षमा ४ लाख १६ हजारले ओपिडिबाट सेवा लिएको बताए । त्यस्तै उनले अस्पतालको भवन निर्माणका लागि पहल गरिरहेपनि सार्थक बन्न नसकेको बताए ।
अस्पतालका निर्देशक डा. समिर गौतमले अव्यवस्थित खानपिन र मानिसको लापरबाहीले मुटुका रोगीहरु बढ्दै भन्दै नियमित चेकजांज गर्न सवैलाई आग्रह गरे । कार्यक्रममा दशक सम्मानबाट मोहन बेल्बासे र दिपक कुमारी चौधरी थारुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै निरज राना, हरियामा थापा, कृष कार्की, पुष्पा घिमिरे, डा. दिपक शर्मा, विष्णु बहादुर सारु, अर्जुन केवट र प्रेम आलेलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद र प्रमाण सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव बावुराम बोहोराले गरेका थिए ।


