
लुम्बिनी - भारतको जम्मु कश्मिरस्थित पहलगाममा भएको आतंकारी घटनाप्रति नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ । मैत्री केन्द्रका केन्द्रीय अध्यक्ष सिद्धार्थ अग्रवालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त आतंककारी घटनाको जति खेद र निन्दा गरे पनि कम हुने जनाएका छन् ।
घटनाले आफूहरुलाई मर्माहत र दुखी तुल्याएको अग्रवालले बताए । ‘योे खबरले मैत्री केन्द्र मर्माहत भएको छ र यस्ता आतंकारी घटनाको हामी जहिल्यै घोर भत्र्सना गर्छौं’, विज्ञप्तीमा भनिएको छ, ‘मानवीय क्रुरताको यो घटना इतिहासकै कलंकित छ र रहिरहनेछ ।’
कश्मिरमा मंगलबार भएको आतंकारी घटनामा परिवारसहित घुम्न गएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपानेको ज्यान गएको छ । यस्तै, त्यहाँ घुम्न गएका पर्यटकसहित कम्तिमा २६ बढी भारतीयको ज्यान गएको थियो । मैत्री केन्द्रले मृतक सम्पूणप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त समेत गरेको छ । ‘हामी घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं । यस्तो दुःखद् घडीमा मैत्री केन्द्र र नेपाली जनता सधैं भारतीय जनताको साथमा रहेको समेत स्मरण गराउँछौं’, विज्ञप्तीमा भनिएको छ ।
मैत्री केन्द्रले यस्ता कायरतापूर्ण घटनाको जति निन्दा गरे पनि कम हुने जनाउँदै यस विषयमा भारत सरकारलाई गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन समेत माग गरेको छ । मानवीय जीवनमा यस्ता आतंककारी घटना घट्नु भनेको कायरतापूर्ण रहेको जनाउँदै मैत्री केन्द्रले विश्व समुदायलाई घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन हातेमालो गर्न समेत अपिल गरेको छ ।
नेपाल–भारत सम्बन्ध सदियौं देखि प्रगाढ र सौहार्दपूर्ण रहेको जनाउँदै एउटा असल छिमेकीको नाताले भारतमा भएको आतंककारी घटनाकोविरुद्ध गोलबद्ध भई सहयोग र सहकार्य गर्न समेत सबै नेपालीहरुमा मैत्री केन्द्रले आग्रह गरेको छ ।