Lumbini Rise
डिजिटल युगको अदृश्य  विष 

कुनै पनि राष्ट्रको जग त्यसका नागरिकको चेतना, विवेक  र सहि सूचनामा अडिएको हुन्छ ।  तर वर्तमान विश्वमा सूचनाको बाढीसङै 'भ्रम' एउटा यस्तो अदृश्य विष बनेर फैलिएको छ । जसको असर तत्काल देखिदैन, तर यसले बिस्तारै राष्ट्रको सम्पुर्ण प्रणालीलाई नै भित्र भित्र गलाउदै लैजान्छ । 

जब कुनै देशमा नियोजित भ्रमहरुलाई नै निर्विकल्प सत्यको रुपमा पुजा गर्न थालिन्छ  त्यो देशको राजनैतिक, सामाजिक र नैतिक धरातल भत्किन सुरु गर्छ । जुन देशमा नागरिकहरुले विवेकभन्दा बढी 'भाइरल' भ्रममा विश्वास गर्छ्न, त्यहाँ  लोकतन्त्रको  आत्मा नै खोक्रो बनेको हुन्छ  । 

​भ्रमको राजनैतिक खेती  र पपुलिजम 

भ्रमलाई सत्य मान्ने समाजमा सवैभन्दा पहिले 'पपुलिष्ट' नेताहरुको उदय हुन्छ । यस्ता नेताहरुले तथ्य र तथ्यांकभन्दा बढी मानिसको संवेग, डर, निराशा  र घृणासङ्ग खेल्ने गर्छ्न । उनीहरुले एउटा काल्पनिक शत्रु खडा गर्छन् र आफुलाई मात्र त्यसको मुक्तिदाताका रुपमा प्रस्तुत गर्छ्न । 

जब जनताले भ्रमलाई सत्य मान्छ्न, ऊनीहरुले प्रमाण माग्न छोडछ्न । विश्लेषकहरुका अनुसार, यसले 'Post-truth' ( सत्य- पश्चत ) युगको सिर्जना गर्छ, जहाँ सत्य त्यो होइन जुन प्रमाणित छ, बरु सत्य त्यो हो जुन सुन्नमा प्रिय् लाग्छ वा जसलाई बारम्बार दोहोर्‍याइएको  छ ।  "हजार पटक बोलिएको झुट सत्य बन्छ" भन्ने गोयबल्सको सिद्धान्त यस्तै समाजको चरितार्थ हुन पुग्छ । 

संस्थागत अविश्वास र भिडतन्त्र 

कुनै पनि देशको स्थिरता त्यहाँका संस्थाहरु- अदालत, निर्वाचन आयोग, सुरक्षा निकाय र प्रेसको विश्वसनीयतामा टिकेको हुन्छ । भ्रमको बोलवाल भएको देशमा यी संस्थाहरुलाई नियोजित रुपमा बदनाम गरिन्छ । जब नागरिकले स्वतन्त्र प्रेसलाई 'विकेको' र अदालतलाई 'सेटिङमा चलेको' भ्रमका आधारमा विश्वास गर्न छाडछ्न, तब समाजमा अराजकता जन्मिन्छ । 

यस्तो अवस्थामा 'भिडतन्त्र' हाबी हुन्छ । सामाजिक संजालमा फैलिएको एउटा सानो अफवाहको भरमा मानिसहरु सडकमा उत्रने, भौतिक आक्रमणमा उत्रने र कानुनलाई हातमा लिने प्रबृत्ति बढछ ।

संस्थागत अविश्वासले अन्तत: राज्यलाई 'असफल राष्ट्र' ( Failed State) को  दिशामा धकेल्छ । 

​सामाजिक ध्रुवीकरण र संवादको मृत्यु

भ्रमले समाजलाई 'हामी' र ' उनिहरु' गरि दुई कट्टर कित्तामा विभाजित गरिदिन्छ । एउटा पक्षले मान्ने भ्रम अर्को पक्षका लागि विष  समान हुन्छ, तर दुबै पक्षले तथ्यलाई हेर्न भने इन्कार गर्छन । यसले गर्दा समाजमा संवाद ( Dialogue) को ढोका बन्द हुन्छ ।  

जब मानिसहरु आफ्नै 'इको च्याम्बर' ( Echo Chamber) मा बस्छ्न- जहाँ  ऊनीहरुले आफ्नो धारणासङ्ग मेल खाने कुरा मात्र सुन्छ्न- तब फरक बिचार राख्ने व्यक्ती शत्रु देखिन थाल्छ ।  

यसले गर्दा परिवार, समाज र समग्र राष्ट्रको सामाजिक एकता खण्डित हुन्छ । 

निर्णय प्रक्रियामा विचलन र आर्थिक असर 

गलत सुचनाको आधारमा गरिने निर्णयले देशलाई दीर्घकालीन आर्थिक क्षती पुर्‍याउछ । यदि मतदाताले भ्रमका आधारमा गलत नेतृत्व छाने भने, त्यसको मुल्य  देशले दशकौंसम्म चुकाउनु पर्ने हुन्छ ।  गलत आर्थिक निति, वैदेशिक लगानीमा ह्रास र प्रतिभा पलायन ( Brain Drain) तसका प्रत्यक्ष असरहरु हुन् ।

बौद्धिक वर्गले जब सत्य  बोल्दा 'ट्रोल' हुने  वा असुरक्षित महसुस गर्छ,तब उनिहरु कि त मौन बस्छ्न कि त देश छोडछ्न जसले गर्दा देशमा ' बौद्धिक शुन्यता' छाउछ । 

​अन्त्यमा..

भ्रमलाई सत्य मान्ने देशको अवस्था एउटा त्यस्तो जहाजको जस्तो हुन्छ, जसको दिशासुचक यन्त्र ( Compass) बिग्रेको छ । जहाज चलिरहेको त देखिन्छ, तर त्यो कुन बेला दुर्घटनामा पर्छ कसैलाई पत्तो हुदैन । अर्थात  आफ्नो अस्तित्व र पहिचान संकटमा परेपछि मात्र मानिस ब्युझन्छ, तर त्यतिबेलासम्म धेरै क्षती भइसकेको हुन्छ । 

सत्य महँगो हुन सक्छ, तर भ्रमको मूल्य कुनै पनि राष्ट्रका लागि आत्मघाती हुन्छ । यदि समयमै नागरिकले 'सुचना' र 'भ्रम' बिचको  फरक चिन्न सकेनन्  भने त्यो देशको भूगोल त रहला, तर त्यसको आत्मसम्मान र भविष्य बाकी रहने छैन ।

– लेखक अर्याल सञ्चारकर्मी तथा भाषणकला प्रशिक्षक हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update