बुटवल - संघीय संसद्को झल्को दिनेगरी बुटवल १३ नहरपुर स्थित ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूलमा बुधबार नमुना संसद् अभ्यास गराइएको छ । कक्षा १० का विद्यार्थीहरुका लागि लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनका बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद कार्यक्रम अन्तर्गत अभ्यास गराइएको हो ।
अधिवक्ता दामोदर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देशका विभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै संघीय सांसदका रुपमा विद्यार्थीहरुले विभिन्न जनसरोकारका मुद्धाहरु उठान गरेका थिए । प्रमुख अतिथि घिमिरेले विद्यार्थीहरुको नमूना संसद अभ्यास साँच्चिकै संसदकै रुपमा प्रस्तुत भएको भन्दै विद्यार्थीको प्रयासको सराहना गरे ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना संसद अभ्यास कार्यक्रम गरिएको बताए । उनले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने र प्रयोगात्मक तरिकाले व्यवस्थापिका संसद्को काम, कर्तव्य अधिकार विधेयक प्रस्तुत गरी पारित गर्ने विधिबारेमा जानकारी गराइएको बताए ।
प्राचार्य भण्डारीले विद्यार्थीहरुलाई केवल पाठ्यक्रममा मात्रै सिमित नराखी समाज र जीवनसँग जोडिएको सिकाई गराउन यस्ता कार्यक्रम गर्नुपर्ने खाँचो औल्याए । विद्यार्थीहरुले कृषि, पर्यटन, पूर्वाधार तथा सरकारले गर्नुपर्ने कामहरुका बारेमा विपक्ष र सत्तापक्षका रुपमा नमूना अभ्यास गराइएको थियो ।

नमूना संसद अभ्यास ज्ञानपुञ्ज पूर्व विद्यार्थी संघका अध्यक्ष सिद्धार्थ कंडेल सहितको टिमले गराएको हो । सभामुख, उपसभामुख, सत्तापक्ष, प्रतिपक्षी बेञ्च सहितको नमूना संसदीय अभ्यास गराइएको थियो ।
उक्त नमूना संसद अभ्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, सहप्राचार्य भिम बस्नेत, घनश्याम पन्थी, अतिरिक्त क्रियाकलाप प्रमुख हरिप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।


