Lumbini Rise
लायन्स बुटवल स्मार्टसिटीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

बुटवल- लायन्स क्लब अफ बुटवल स्मार्टसिटीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले पाल्पाको रम्घा गाउँपालिका–४ हुमिनस्थित श्री जनहित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

क्लबले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय पोशाक, झोला, कापी, कलम तथा अन्य आवश्यक लेखन सामग्री वितरण गरिएको थियो । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कम्प्युटरसमेत हस्तान्तरण गरिएको छ । 

ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर तर, अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष हिमाल श्रेष्ठले शिक्षा नै सभ्य र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने भावनासहित सहयोग गरिएको बताए।

उनले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

जोन अध्यक्ष सागर शर्माले ग्रामीण विद्यालयहरूमा स्रोतसाधनको अभाव हुने भएकाले यस्ता सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढाउने धारणा राखे । उनले लायन्स अभियान सधैं शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा समर्पित रहने बताए ।

क्लबका सचिव प्रज्वल अर्यालले वार्षिक कार्ययोजनाअनुसार शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी गराए । उनले आगामी समयमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।

क्लबका उपाध्यक्ष जीवन श्रेष्ठले सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागीताले मात्र यस्ता कार्यक्रम सफल हुने उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरूले क्लबप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

विद्यालय प्रशासनले कम्प्युटर सहयोगले प्रविधिमैत्री शिक्षामा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।सहयोग प्राप्त गरेपछि विद्यार्थीहरूले खुशी व्यक्त गर्दै लगनशील अध्ययनमार्फत समाज र राष्ट्रका लागि उपयोगी नागरिक बन्ने प्रतिबद्धता जनाए। लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update