बुटवल - फागुन २१ अर्थात् भोलि बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ।
निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन्। बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा तयारी पूरा गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन् । सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।
निर्वाचनमा मतदाताहरूको सहजताको लागि २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी समेत खटाइएको छ । मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार रूपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
मंगलबार बिहानैदेखि नै मतदान स्थलहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन् । मतदान स्थलमा पुगेका अधिकृतहरूले सूचना टाँस गर्ने, सर्वदलीय बैठक गर्ने र मतदानको लागि आवश्यक तयारी सकेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र न. २ अन्तर्गत सबैभन्दा धेरै मतदाता रहेको बुटवल वडा न. ११ स्थित लुम्बिनी बाणिज्य क्याम्पसमा मतदानस्थलमा मतदानका लागि सबै प्रक्रिया पूरा गरिएको मतदान अधिकृत राजेन्द्र प्रसाद पन्थीले बताए । उनले मतदान केन्द्र निर्माण सम्पन्न गरी शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि तयारी गरिएको बताए ।
उनले विगतमा १६ वटा केन्द्र रहेकोमा अहिले नविन औद्योगिक कदरबहादुर माविमा ९ वटा केन्द्र राखेर तयारी गरिएको उनले बताए । उनले अशक्तm, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई छुट्टै लाईन बनाइएको बताए ।
मतदानको तयारीसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, गणना स्थलमा तार जाली लगाउने लगायतका काम पनि भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।








