काठमाडाैं - नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रिया अनुसार छानबिन गरी दोषीमाथि कारबाही गर्न पुनः माग गरेको छ।
पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन हुनुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक यस्तो माग राखिएको कांग्रेसले भदौ २७ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत पनि सोही विषय दोहोर्याएको थियो।
निर्वाचनपछि चैत ६ देखि ८ गतेसम्म बसेको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको थियो। साथै, भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा २४ गते भएका विध्वंसका घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरी पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएको छ।
कांग्रेसले हालसम्म प्रतिवेदन विधिसम्मत रूपमा सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि जनाएको छ। सञ्चारमाध्यममा सार्वजनिक भएका अंशका आधारमा आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा अध्ययन गरे पनि २४ गतेका घटनालाई बेवास्ता गरेको देखिएको भन्दै त्यसलाई एकपक्षीय र अपूर्ण ठहर गरेको छ।
पार्टीका अनुसार, यदि २४ गतेका घटनामा छानबिन नै नगरिएको हो भने प्रतिवेदन अपूर्ण रहने र यसले निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउनेछ। यस सन्दर्भमा सर्वोच्च अदालत ले समेत आयोगको निष्पक्षताबारे उठाएको प्रश्नलाई बल पुग्ने कांग्रेसको भनाइ छ।
यस्तै, मन्त्रिपरिषद्को हालैको निर्णयप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। एउटै प्रतिवेदन र एउटै सिफारिसका आधारमा सरकारको व्यवहार ‘चयनात्मक’ देखिएको भन्दै यस्तो कदमले विधिको शासन कमजोर बनाउने चेतावनी दिएको छ। कांग्रेसले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। साथै, आवेग र हतारमा गरिने निर्णयले न्याय प्रक्रिया प्रभावित हुने र मुलुक पुनः अस्थिरतातर्फ जान सक्ने भन्दै सरकारलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ

