बुटवल, बैशाख १७ ।
लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका प्राधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन ।
बुटवलका लेखक ज्ञवाली हाल अमेरिकावासी हुन् । अज्ञात पुस्तकमा गोर्खा राज्यको विस्तारमा अनगन्ती अज्ञात मानिसको कथालाई उजागर गर्ने प्रयत्न गरिएको छ । लेखक ज्ञवालीले आफ्नै घरमा पुस्तकको लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले पुस्तक पढेर आलोचना गर्न समेत आग्रह गरे ।
लेखक अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकको समिक्षा गर्दै पुस्तकले नेपाल राज्य र नेपाल अग्रेज युद्धलाई जोड्दै त्यहाँका अज्ञात पात्रहरुको कथालाई उतारेको बताए । उनले इतिहासलाई प्रेमको आलोकबाट सामान्यजनको कथा भनिएको बताए ।
साथै उनले लेखक ज्ञवालीको यो पुस्तककले साहित्य जगतमा बलियो हस्तक्षेप गरेको बताए । यस्तै अर्का समिक्षक उपप्राध्यापक माया घिमिरेले पुस्तकले ओझेलमा रहेका पात्रहरुको इतिहासलाई उजागर गरेको बताईन ।
यस्तै डा. मनोज ढुंगानाले लेखकलाई पाठक मञ्चका तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामि लेखनकार्यको शूभकामना दिए । लोकार्पण कार्यक्रममा पाठकमञ्चका सरिता श्रीस, लेखक सुमिनाले बोल्दै पुस्तकले इतिहासलाई खोतलेको बताए ।
नेपालको वर्तमान भूगोल निर्माणमा आफ्नो प्राण र पसिना मिसाएका अज्ञात व्यक्तिहरुको कथालाई पुस्तकमा उतारिएको छ । लेखक ज्ञवालीको पहिलो कृति कथासंग्र्रह अर्को भोरले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो ।


