बुटवल - 'तोरकीन' उपन्यासका लेखक क्षितिज समर्पणसँग बुटवलमा छलफल गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा उपन्यासको कथा र लेखकको अनुभूतिका बिषयमा छलफल गरिएको हो ।
उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै अध्येता शंकर भण्डारीले उपल्लो मुस्ताको चराङ गाउँबाट सुरुवात भएको उपन्यासले हिमाली जनजीवनलाई उतारेको बताए । उनले उपन्यासका शब्द, प्रतिक र विम्बहरुको प्रयोग निकै चाखलाग्दो गरी लेखिएको बताउँदै अन्त्यतिरको कथाहरुमा हतार गरिएको जस्तो देखिएको बताए । उनले उपन्यासले समग्रमा नेपाली समाज त्यसमा पनि मुस्ताङको जनजीवनलाई उतारेको बताए ।
यसैगरी लेखक सुमिनाले उपन्यासभित्र जन्म, मृत्यू र विवाह संस्कारदेखि त्यहाँको भूगोलका कथाहरु भनेको बताईन ।
अर्का लेखक तथा पठकसंस्कृतिका अभियान्ता सरिता श्रीसले उपन्यासले उपल्लो मुस्ताङ्गको जीवनसँगै नेपाली समाजको बाध्यताहरुलाई उजागर गरेको बताई ।
यस्तै पत्रकार विनोद परियारले लेखकले पहिलो उपन्यास मार्फत नेपाली निम्नमध्यम परिवार त्यसमा पनि हिमाली जनजीवन उजागर गर्ने कोसेली पाठकसामू ल्याउनु सकरात्मक रहेको बताए । लेखक क्षितिज सर्मपणले पत्रकारिताकै शिलशिलामा मुस्ताङ भ्रमणबाट तोरिकन उपन्यासको जन्म भएको बताउँदै पहिलो कृती भएकाले यसका कमजोरी आगामि दिनमा सुधार गर्ने बताए ।
पाठक मञ्च बुटवलका तर्फबाट अध्येता तथा लेखक रामचन्द्र श्रेष्ठले पाठक मञ्चले उपन्यास तोरकिनका बारेमा छलफल गर्न पाएकोमा धन्यवाद दिदै अब उपन्यासहरु कस्ता लेखिए भन्नेबारेमा पनि बहसको खाँचो रहेको बताए।
तोरकीन सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको छ । पुस्तक गतवर्ष दशैको नजिक बुकहिलले प्रकाशन गरेको हो । जाजरकोटमा जन्मिएका समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन्


