बुटवल- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्म वार्षिक बजेटको आधा हिस्सा पनि खर्च गर्न सकेको छैन ।
११ महिनामा प्रदेश सरकारले वार्षिक बजेटको ४७.२० प्रतिशतमात्रै खर्च गर्न सकेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म चालुतर्फ ५०.६७ प्रतिशत र पुँजीगततर्फ ४४.९२ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ गरी कुल ३८ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
वैशाख मसान्तसम्म कुल खर्च ३९.९१ प्रतिशत रहेकोमा जेठ महिनामा करिब ५ प्रतिशत वृद्धि भई ४४.९२ प्रतिशत पुगेको हो । यद्यपि बाँकी अवधिमा ठुलो परिमाणमा पुँजीगत खर्च हुने सम्भावना न्यून रहेको अर्थविद्हरूको भनाइ छ ।
प्राध्यापक तथा अर्थशास्त्री माधव पौडेलले बजेट कार्यान्वयनमा देखिएको ढिलाइ प्रदेश सरकारको पुरानै समस्या भएको बताए । उनका अनुसार वर्षभरि योजना कार्यान्वयनमा सुस्तता देखिने र आर्थिक वर्षको अन्त्यमा हतार–हतार खर्च गर्ने प्रवृत्ति कायम रहेकाले त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन सक्दैन । उनले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेपछि सरकारको ध्यान चालु वर्षको बजेट व्यवस्थापनभन्दा आगामी वर्षका कार्यक्रमतर्फ बढी केन्द्रित हुने गरेको उल्लेख गरे ।
यस्तो प्रवृत्ति संघ, प्रदेश र स्थानीय तह तीनै तहमा देखिने गरेको उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि असार १ गते ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरिसकेको छ ।
उक्त बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो ।
नयाँ बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम हो । चालु वर्षकै बजेट कार्यान्वयन कमजोर देखिएकाले आगामी वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूको सुझाव छ ।


-1784986351.jpg)