बुटवल - पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तकको शनिबार बुटवलमा लाेकार्पण गरिएको छ ।
पुस्तककाे बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेल लगायतले लाेकार्पण गरेका हुन्।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बुटवलको ऐतिहासिक महत्वलाई उजागर गर्नेगरि प्रकाशित पुस्तक इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
देशकै गाैरवकाे रूपमा रहेको नेपाल-अंग्रेज फाैजबीचकाे जितगढी युद्धका कमान्डर कर्णेल उजिरसिंह थापा र तत्कालीन पाल्पाली सेनवंशी राजाकाे योगदानकाे बिषयमा खाेजमूलक पुस्तक बुटवलकाे प्रचारप्रसारमा उपयोगी हुने बताए ।
अग्रज पत्रकार मदनलाल पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतिविद् बिमलबहादुर शाक्य,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य,पुस्तकका लेखक महेन्द्र थापा लगायतले पुस्तकबारे आ आफ्नो भनाइ राखेका थिए । पत्रकार थापा तीन दशकदेखि बुटवलमा पत्रकारितामा क्रियाशिल छन् ।


