
काठमाण्डौ – भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटना छानबिनका लागि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले अनुसन्धान समिति गठन गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार समितिलाई १० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय तोकिएको छ । यसैबीच नेपालको परराष्ट्र मन्त्रालयले घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय भइरहेको जनाएको छ ।
यस्तै नेपाली राजदूतावास नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरूलगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको पनि मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै भारतीय विदेश मन्त्रालयले विदेशी विद्यार्थीको सुरक्षा, हितमा सरकार गम्भीर भएको र यसका लागि ओडिसा राज्य सरकारसँग समन्वय भइरहेको जनाएको छ ।
मन्त्रालयले निकालेको विज्ञप्तिमा यस दुःखद् घटनाका सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान गर्न तथा सबै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि आवश्यक समन्वय भइरहेको उल्लेख छ ।