बुटवल- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
उनले भारता रहँदा भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने छन् । यसैगरी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्। यस्तै उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा पनि अर्थमन्त्रीको सहभागीता हुने छ । यसैगरी भारतीय उद्योग परिसंघले शनिबार आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा समेत प्रमुख अतिथिका रूपमा अर्थमन्त्रीको सहभागीता रहने छ।
भ्रमण टोलीका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, नेपाली राजदूताबास नयाँदिल्ली, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी, नेपाली राजदूताबास नयाँदिल्ली र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत रहेका छन्।अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यक्रम छ ।

