Lumbini Rise
लुम्बिनीका मुख्यमन्त्री र कोशीका सभामुखविच भेटवार्ता

 

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताए ।‘प्रदेश स्थापना भएको ८ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएका छन् । 

पूर्वाधार विकास, सामाजिक सुधार तथा मानव पूँजी निर्माणका क्षेत्रमा भएका प्रयासहरू उपलब्धीपूर्ण छन्,’ मुख्यमन्त्री आचार्यले भने–‘अन्तरप्रदेश समन्वय र सहकार्यले संघीयतालाई थप मजबुत बनाउनेछ ।’ मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदानप्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिनेछ ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गरे । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताइन् ।

छलफलमा नेपाली कांग्रेसकी सचेतक शोभा लिम्बु, नेकपा (माओवादी केन्द्र) की सचेतक गीता तिम्सिना, नेकपा (एकीकृत समाजवादी) का सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायतको सहभागीता थियो । लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्यसँगै प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरीलगायत सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update