
बुटवल – सूचनाको प्रवाह र सेवाप्रवाहमा पारदर्शिता कायम गर्न सूचनाको हकको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको छ । पब्लिक भ्वाईस नेपालको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहकार्यमा सूचनाको हकमा नागरिकको पहुंच सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिष्णु ढकालले बुटवलका १९ वटै वडा मध्ये आफनो वडा सेवा प्रवाहमा उत्कृष्ट वडा मध्ये एक भएको दाबी गर्दै नागरिकले पाउने सेवा,सुविधा तथा अन्य जुनसुकै कार्यमा पनि कुनै कमी नरहेको बताए। अध्यक्ष ढकालले सुशासनयुक्त समाज निर्माणमा वडाले नमुना भूमिका खेलेको दाबीसमेत गरे ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै वडा नम्बर ३ का वडा सचिव गणेश न्यौपानेले वडाबाट प्रदान हुने सेवाहरू र ती सेवामा नागरिकले कसरी पहुँच बनाइरहेका छन् भन्नेबारे जानकारी दिएका थिए । उनले नागरिकले जन्म, मृत्यु, बसोबास, नाता प्रमाणपत्र, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सहज रूपमा प्राप्त गरिरहेको उल्लेख गरे। साथै उनले वडामा सूचना प्रवाहको प्रकृया पारदर्शी रहेको र नागरिकले चाहेको सूचनामा कुनै अवरोध नरहेको बताए ।
त्यस्तै, पब्लिक भ्वाईस नेपालका अध्यक्ष राधा बस्नेतले सूचनाको हक भनेको के हो, कानुनी प्रावधान के छ ,यसलाई प्रयोग गर्ने तरिका,सार्वजनिक निकायसँग कसरी जानकारी माग्ने भन्ने बारेमा सहभागीलाई सहजीकरण गरेकी थिइन् । उनले सूचनाको हकले सुशासन, जवाफदेहिता र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा वडासदस्यहरु पवित्रादेवी श्रेष्ठ,रतिमाला बिक, अमृत खड्का,वडा न. २ का वडा सदस्य कुमारी देवि दर्नाल, १३ वटै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनीधि , बाल संजालका अध्यक्ष, युवा संजाल, एकल महिला ,अपाङ्ता , आमा समूह लगायत,जेष्ठ नागरिक मंच लगायतका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले यस्ता जनचेतनामूलक अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए ।सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचारमुक्त समाज निर्माणमा केहि हद सम्म सम्भव हुने उपस्थितहरुले धारण व्यक्त गरेका थिए ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष राधा बस्नेतको अध्यक्षता, उपाध्यक्ष निरु गुरुङ्गको स्वागत तथा महासचिव अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको हो ।