
लुम्बिनी- स्थानीय सरकारको सक्रियतामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दोस्रो संस्करणका रुपमा ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शुरु भएको छ ।
२ दिने ज्ञान उत्सवको पूर्वमन्त्री एव्म रुपन्देही क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले शुक्रबार उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री विश्वकर्माले समतायुक्त, सुसस्कृत र मानव मर्यादाको समाज निर्माणले मात्रै मुलुक समृद्ध बन्ने बताए । उनले संविधानले भेदभाव र छुवाछुत अन्त्यका लागि कानुन नै बनाएर दण्डित गरेको बताउँदै तिलोत्तमा नगरपालिकाले त्यही बिषयमा केन्द्रीत भएर उत्सवका रुपमा कार्यक्रम गर्नु निकै सकरात्मक रहेको बताए ।
नेपाली समाज सहिष्णु, सद्धभाव र मानवमर्यादा राख्ने खालको भएकाले जातीय भेदभावजस्तो कुसंस्कार अन्त्य गर्नेपर्ने उनले बताए । ‘समाज अगाडि बढ्ने हो, विभेदलाई अन्त्य नगरी मानवमर्यादाको समाज बन्दैन’ प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्माले भने –‘तिलोत्तमाले त्यही सभ्य समाज निर्माणका लागि ऐतिहासिक कार्यक्रम गरेको छ ।’
पूर्वमन्त्री विश्वकर्माले तराईमधेशका दलित समुदायको जीवन निकै कष्टकर रहेकाले सुरक्षित आवास कार्यक्रम शुरु गरिएपनि त्यो अझै प्रभावकारी हुन नसकेको बताए ।
उनले तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर मानव मर्यादाको नगरका रुपमा आफूलाई उभ्याउन सफल भएको भन्दै अब व्यवहारमै विभेद अन्त्य गर्ने अभियानमा लाग्न अपिल समेत गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई मानवताको सहर बनाउने अभियान अन्तर्गत ज्ञान उत्सवको आयोजना गरिएको बताए । उनले तिलोत्तमा नगरभित्र जातको आधारमा छुवाछुत गरेमा कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा र दलित ज्ञान उत्सव मानवताको शहर बनाउने दीर्घकालिन योजनासँग जोडिएको बताए ।
उनले केन्द्रीकृत राज्य व्यवस्थाले सृजना गरेका भेदभाव र संविधानले उल्लेख गरेका व्यवस्थालाई कार्यान्वयनका लागि उत्सवले बहसमा ल्याउने विश्वास व्यक्त गरे ।
उत्सवकै अवसरमा तिलोत्तमा नगरपालिकाको दलित पाश्र्वचित्र र दलित विकास रणनितिको विमोचन समेत गरिएको नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक एव्म कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।
दलित समुदायले इतिहासदेखि वर्तमान सम्म र उनीहरुको साहित्य, कला, संस्कृति र दर्शन, जातीय समानताको सन्देश, युवा सशक्तिकरण, साँस्कृतिक संरक्षण र सहभागिताका विषयमा वहस गरिएको सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताए ।
उनका अनुसार पहिलो दिन शुक्रबार लुम्बिनी प्रदेशमा दलित अधिकार ऐन र राजनैतिक दलको भूमिका, राजनैतिक दल र दलित सशक्तिकरणको सवाल, दलित र उद्यमशिलता, विभेद विरुद्ध कविता र गीत संगित प्रस्तुत गरिएको छ ।
यस्तै शनिबार सामाजिक रुपान्तरणमा युवा, संघीयतामा दलित सवाल र प्रतिनिधित्व, स्थानीय सरकारमा दलितमैत्री बजेट र प्रशासनिक संयन्त्रमा समावेशिता बिषमा बहस हुने छ । ज्ञानउत्सवमा विभेद विरुद्ध चित्रकला समेत प्रस्तुत गरिएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरका जनप्रतिनिधि, टोल विकास समिति, राजनैतिक दलका नेता, सामाजिक अगुवाहरुको सहभागिता रहेको छ ।