Lumbini Rise
नेपाली बिशेषताको समाजवादमा जाऔँ : विप्लव

बुटवल- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रबाट कुनै पनि क्षेत्र सन्तुष्ट नभएकाले अब यसको विकल्प समाजवाद मात्रै हुनसक्ने बताएका छन् । उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य गरी अर्को नयाँ युग सुरु गरेको बताउँदै तर, यो गणतन्त्रले जनतालाई सन्तुष्ट नबनाएको बताए ।

जनपत्रकार सङ्गठन नेपालले बिहीबार बुटवलमा गरेको गणतन्त्र, जनपक्षिय पत्रकारिता र कृष्ण सेन इच्छुकको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै महासचिव विप्लवले अब यसका लागि समाजवादमा जानुपर्ने बताए ।

उनले नेपाली काँग्रेसले भनेको प्रजातान्त्रिक समाजवाद र कम्यूनिष्टहरुले भनेको वैज्ञानिक समाजवादका विषयमा खुल्ला बहस गरी नयाँ विकल्पमा जानुपर्ने बताए । ‘गणतन्त्रका संरचनालाई ठिक ढङ्गले चलाउन नसक्दा राजतन्त्र ठिक हो कि भन्नेमा जनता भ्रममा छन्’ उनले भने –‘यही कारणले अब नेपाली विशेषताको अर्थप्राणाली अपनाएर समाजवादमा जानुको विकल्प छैन ।’ 

गणतन्त्रप्रति असन्तुष्टि बढ्दै जाँदा राजसंस्था पक्षधरहरू सडक आन्दोलनमा आउँदा आम सर्वसाधारण नागरिकमा अहिलेको गणतन्त्रको विकल्प त्यही हो कि भन्ने परेको विप्लवले औँल्याए । तर गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने प्रस्ट पार्दै विप्लवले अहिलेको असन्तुष्टिको समाधान नेपाली विशेषताको समाजवाद हुने बताए ।

1-1748514629.jpg


‘कसैले राजसंस्था पुनर्स्थापना भनेका छन्, कसैले यही गणतन्त्रमा संविधान संशोधन गरेर ठिक हुन्छ भनेका छन् यी दुबैबाट जनताको असन्तुष्टि सम्बोधन हुँदैन, समाधान पनि दिँदैन’–विप्लवले भने–‘अब नेपालमा कस्तो समाजवाद आवश्यक हो भन्नेमा खुल्ला बहस हुनुपर्छ ।’

नेपालमा चिनियाँ र रुसी जस्तो समाजवाद नेपालमा मेल नखाने भन्दै कम्युनिस्ट सिद्धान्त, विचार र दर्शनमा पुनर्विचार जरुरी रहेको समेत विप्लवले औँल्याए । 

महासचिव विप्लवले पुरानो व्यवस्थाका चरित्रका अवशेष दल र नेताहरूमा बाँकी नै रहेकाले हरेक पेसा व्यवसायमा असन्तुष्टि रहेको बताए । उनले पोखरा विमानस्थलको उदाहरण दिँदै अर्बौँ भ्रष्टाचारका काण्डहरूमा तीन ठुला दलका शीर्ष नेताहरूले चोचोमोचो मिलाएको आरोप लगाए । ‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन नेपालको नारा हुनुपर्छ–‘विप्लवले भने–‘सबै कुरा किनेर उपभोग गर्ने अनि समृद्ध नेपाल सुखी नेपाली नारा कसरी उपयुक्त हुन्छ ?’ उनले बैङ्कहरूले ऋणीको ७ करोडको घर सम्पत्ति २ करोडमा लिलाम गरेर खाइदिने परिपाटी गलत रहेको टिप्पणी गरे । 

उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा नेपाली मिडियाको योगदान रहेकाले नेताहरूले आफूलाई सुधार गर्नुपर्नेमा जोड दिए । 

यस्तै सोही अवसरमा सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा स्थापित कृष्ण सेन पत्रकारिता पुरस्कारबाट पत्रकार यानेन्द्र जिसी र लेखक तथा साहित्यकार दीपक विश्वकर्मा (छविलाल) लाई नगद र सम्मान पत्रले सम्मान गरिएको जनपत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताए । 

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update