Lumbini Rise
एकीकृत समाजवादीद्वारा जातीय उन्मूलन दिवसमा कोणसभा 

बुटवल- जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधवार बुटवलमा कोणसभा गरेको छ । जातीय मुक्ति सङ्गठन रुपन्देही सहआयोजक रहेर सो पाटीले जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएको भन्दै राज्यलाई दबाब दिने उद्देश्यले कोणसभा गरेको हो । 

बुटवल हाटबजार स्थित बुटवल उपमहानगर अगाडि गरेको कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले छुवाछुत जस्तो कलङ्कका विरुद्ध पार्टीले केन्द्रीय कार्यक्रम अनुसार कोणसभा गरेको बताए । उनले मान्छे मान्छे सबै एक भएको बताउँदै छुवाछूतका सवालमा सरकारले कानुन कार्यान्वयन गर्नुपर्ने बताए । 

कार्यक्रमका बारेमा जानकारी दिँदै पार्टीका रुपन्देही उपाध्यक्ष अविराम विश्वकर्माले छुवाछुत मुलुकको समस्या भएकाले पार्टीले देशैभर अभियान सुरु गरेको बताए । उनले पछिल्लो समय विवाह, व्रतबन्ध, पूजा तथा अन्य सामाजिक कार्यहरूमा दलित समुदायलाई छुटाउने र बहिष्कृत गर्ने गरिएको बताए । 

यस्तै कोणसभामा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सदस्य डोलेन्द्र विश्वकर्माले छुवाछुतमुक्त घोषणाको सम्झनामा दिवस मनाइएको भएपनि व्यवहारमा छुवाछुत हट्न नसकेको भन्दै सरकार जिम्मेवार हुनुपर्ने बताए । 

यसै गरी कार्यक्रममा नेकपा एकीकृत समाजवादी बुटवल नगर अध्यक्ष चिन बहादुर गुरुङ, पार्टीका जिल्ला सचिव टंक प्रसाद पोख्रेल, दलित नगर समन्वय समिति बुटवलका संयोजक रवि विश्वकर्मा, प्रेम बराईली लगायतले बोलेका थिए । कोणसभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती अधिकारी घिमिरे सहित पार्टीका प्रदेश, जिल्ला र नगर कमिटीका नेताहरूको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update