Lumbini Rise
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति

बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् । 

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका ९पाल्पा०ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने     कानूनहरु यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् । यस्तै, पालिका तहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटो छरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । 

पालिकाका सीमा क्षेत्रका नदी वा खोलानालाहरुको संरक्षण, नदीजन्य पदार्थको उत्खनन् तथा उपयोगका सम्बन्धमा नदीको वहावलाई सम्बन्धित पालिकाका विज्ञ प्रतिनिधि सम्मिलित संयुक्त समितिको प्रतिवेदनका आधारमा प्राविधिक विधिबाट व्यवस्थापन गरी प्राकृतिक स्रोतको उपयोग गर्न यी पालिकाबीच सहमति भएको छ । 

पालिकाहरुका बीचमा सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योलहरु समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरुपण गर्ने सहमति पनि ६ वटा पालिकाले गरेका छन् । यस्तै गरी, सीमा क्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकताअनुसार संयुक्त लगानी वा साझेदारी गर्नका लागि आवश्यक कार्य गर्ने, स्थानीय तहले निर्माण गर्नुपर्ने कानूनहरु निर्माणका लागि यथाशीघ्र निर्माण गर्नका लागि आपसी समन्वय र सहकार्य गर्ने सहमति पालिकाका बीचमा भएको छ । 

यस्तै, यी ६ पालिकाले पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सञ्चालन, फोहोरमैला बिर्सजनस्थल वा प्रसोधन, तीनपांग्रे सवारी सञ्चालन, पर्यटन प्रवद्र्धन, अन्तरपालिका भगिनी सम्बन्ध कायम राख्ने र असल अभ्यासहरुको आदानप्रदान गर्ने सहमति पनि गरेका छन् । यस्तै कृषि उपज तथा अन्य उत्पादनको संकलन, भण्डारण र बिक्री वितरणका लागि आपसी साझेदारी गर्ने र अन्य समस्या वा अन्योलहरुको समाधान गर्न एकमत हुने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए । 

६ वटा पालिकाबीच भएको सहमतिलाई सबै पालिकाहरुले आगामी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी आवश्यक नीतिगत निर्णय गर्ने उनले बताए । पाण्डेयले बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरुसँग मानव संसाधनको विकासका क्षेत्रमा ५ लाख रुपैयाँ र छिमेकी पालिकाको ५ लाख रुपैयाँ लगानी गर्ने गरी आगामी बजेटमा समावेश गर्ने बताए । 
उनले स्थानीय तहहरुका बीचमा आपसी समन्वय, सहकार्य र साझेदारी कायम राख्ने गरी हरेक वर्ष सबै पालिकाहरुको सहभागिता र सहकार्यमा बुटवल उपमहानगरपालिकाले अन्तरपालिका समन्वय बैठक तथा अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्ने बताए ।

यस्ता कार्यक्रमले स्थानीय तहहरुका बीचमा सहकार्य, समन्वय र साझेदारी गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले बताए । उनले बुटवलले थालेको यो अगुवाईले देशभरमै सकारात्मक सन्देश प्रवाह हुने र अन्य पालिकाहरुले पनि सिक्दै जाने बताए । बुटवल र तिलोत्तमाका बीचमा धेरै विषयहरुमा कैयौं पटक छलफल गर्नुपर्ने र निकास निकाल्नका लागि यस्ता कार्यक्रमले झनै प्रभावकारी बनाउने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए । उनले बुटवलले थालेको यो अभ्यासले छिमेकी पालिकाहरुसँग सहकार्य र समन्वय गर्नका लागि सहज हुने बताए । 

शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले नदीजन्य पदार्थदेखि विकासका काममा छिमेकी पालिकाहरुका बीचमा अन्योल हुने गरेको अवस्थामा बुटवलले थालेको पहल प्रभावकारी हुने बताए । उनले अन्य पालिकाहरुसँग समेत यसै गरी समन्वय र सहकार्यको जरुरी रहेको बताए । 

तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले बुटवल र तिनाउका बीचमा पानीको श्रोतदेखि अन्य क्षेत्रहरुको सहकार्य रहीआएको र बुटवलले यसैवर्षदेखि आपसी साझेदारीमा विशेष जोड दिएको बताए । उनले तिनाउबाट बुटवलमा पानी ल्याउने मुहान क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरेको र बुटवलसँगको सहकार्य अझ मजबुत बनेको बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update