Lumbini Rise
रूपन्देहीका होटलमा २५ अर्ब बढी लगानी
बुटवल मणिग्राम स्थित ड्रिमल्याण्ड हाेटल ।


बुटवल- अन्र्तराष्ट्रिय विमानस्थलका कारण रुपन्देहीमा  होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई हजार ५०० होटल छन् । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा छन ।


 गौतमबुद्ध विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको हो । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएपनि व्यवसायी भने उत्साही हुन सकेका छैनन । जुन रुपमा विमानस्थलमा उडान हुनुपर्ने हो, त्यसो नभएपछि व्यवसायीहरु चिन्तित भएका हुन । लुम्बिनी, बुटवल, भैरहवामा ठूला साना गरी होटलहरु धमाधम खुलेका छन । बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना ठूला गरी १२४ होटल तथा रेस्टुरेन्ट छन् ।


लुम्बिनीमै डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई सञ्चालनमा छ ।  भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे रिसोर्ट सञ्चालनमा छ । व्यवसायी पवन हलुवाईसहितको तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा–परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ ।

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द ईन, लिटिल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल अशोकाइन, आकाश इन्टरनेशनल, स्तुप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

लुम्बिनीका होटलमा मात्रै एक रातमा १० हजार बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटल फ्लामिङ्गो, महाराजा लगायतका होटल सञ्चालनमा आएका छन् ।

त्यसैगरी ५० करोड हाराहारी लगानीमा भैरहवाको होटल नान्स, होटल निर्वाणा, बुटवलमा पाँच करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् ।  त्यसैगरी बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, दरबार लन्जलगायतका होटल सञ्चालनमा छन् ।

भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एण्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटल मदानी सञ्चालनमा छन् ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update